logo

२०८३ साउन १३ बुधबार

भूकम्प पीडितका घर निर्माणमा सरकार प्रतिबद्ध : गृहमन्त्री लेखक

भूकम्प पीडितका घर निर्माणमा सरकार प्रतिबद्ध : गृहमन्त्री लेखक


हाम्रो राष्ट्र
  • सोमबार, २६ फाल्गुन २०८१
  • 2.7K
    SHARES

    जाजरकोट:  नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पको पुनर्निर्माण कार्यलाई राजनीतिक रंग नदिन आग्रह गर्दै सरकारले भत्किएका घरहरू पुनः निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

    जाजरकोटको भेरी नगरपालिका-१, रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनःस्थापना कार्यान्वयन इकाई कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाइने बताए। उनले भने, “भूकम्पबाट प्रभावित जनतालाई सुरक्षित आवासमा राख्ने सरकारको लक्ष्य छ। अब जनताले थप पीडा भोग्नुपर्ने स्थिति आउन दिने छैनौं।”

    गृहमन्त्री लेखकले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा पुनःस्थापना प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी पुनर्निर्माण प्रक्रिया अगाडि बढाइने बताए। विस्तृत क्षति आकलन (डिडिए) कार्य छिटो सम्पन्न गर्न ५० जना प्राविधिक जाजरकोट र ४८ जना प्राविधिक रुकुम पश्चिममा खटाइएको जानकारी दिँदै आवश्यक परे थप जनशक्ति परिचालन गरिने उनले बताए।

    कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले भूकम्पपछिको पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले भने, “प्रभावित नागरिकका पुनःस्थापनाका लागि हामी दृढ छौं। सरकार जनताको दुःखमा साथ दिन तयार छ।”

    नेपाली कांग्रेस जाजरकोटका सभापति एवं प्रदेशसभा सदस्य बेदराज सिंहले भूकम्प प्रभावित नागरिकका लागि पुनर्निर्माणको कार्य प्रारम्भ भएकामा खुशी व्यक्त गरे। उनले भने, “भूकम्पपछि धेरै परिवार अस्थायी टहरामा बस्न बाध्य भए। अब उनीहरूलाई स्थायी आवास उपलब्ध गराउन सरकारले पहल गरेको देख्दा आशा पलाएको छ।”

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा पुनःस्थापना प्राधिकरणका प्रतिनिधि भिष्मकुमार भुसालले विस्तृत क्षति आकलन (डिडिए) सम्पन्न भएसँगै लाभग्राहीको घर पुनर्निर्माण प्रक्रिया तीव्र रूपमा अगाडि बढ्ने बताए।
    गत वर्ष कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१, रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले ठूलो धनजनको क्षति पुर्याएको थियो। सो भूकम्पका कारण तीन महिनासम्म त्रिपालमुनि र त्यसपछि अस्थायी टहरामा बस्दै आएका पीडितका लागि अब स्थायी पुनर्निर्माणको कार्यले गति लिने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend