काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । शहरी विकास मन्त्रालयमा मंगलबार उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गर्नुभएको हो । सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य शहर बनाउने, उपत्यकाका नदि प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा मेयर र उपमेयरहरुले धारणा राख्नुभएको थियो ।
उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सफा, स्वच्छ र यहाँ बग्ने नदिहरुलाई सफा बगाउनका लागि तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उपत्यकाका नदि प्रणाली स्वस्छ बनाउन सेप्टिक ट्यांक अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडी बढाउनुपर्नेमा आफ्नो जोड रहेको बताउनुभयो ।
‘उपत्यकाका बग्ने नदिहरुलाई स्वच्छ बनाउनुपर्यो । त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेफ्टी ट्यांकी बनाउने अभियानमा लाग्नैपर्छ । अब नयाँ बन्ने ठाउँमा सेफ्टी ट्यांक हरेक घरमा बनाउनुपर्यो । जहाँजहाँ घर बनिसके , ठाउँ छैन भने १०,१५ घरको एक ठाउँमा भएपनि सेफ्टी ट्यांकी बनाउनुपर्यो,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ। त्यसलार्ई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेफ्टी ट्यांकको अभियाननै चलाउनैपर्यो । नत्र,नदि स्वच्छ हुँदैन,दुर्गन्ध हट्दैन।’उहाँले उतप्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तिनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफूले शहरी विकास मन्त्रालय सम्हालेदेखिनै बाग्मती र धोबिखोलामा अर्बौ खर्च भएपनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिनका लागि आवश्ह्यक काम अघि बढाउन भनिसकेको बताउनुभयो ।
छलफलमा उपत्यकाका भिभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले फोहोरमैला व्यवस्थापन, नदिको स्वच्छता र सफाई, शहरी पूर्वाधारको विकासमा आउने बजेटले सम्बोधन गर्नुपर्ने बताएका थिए । उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्नयोग्य व्यवस्थित शहर बनाउनका लागि पालिकामा गर्न सकिने कामबारे कार्ययोजना पेश गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधनका लागि अघि बढ्ने बताउनुभएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend