काठमाडौं – फेडेरेसन अफ एजुकेशनल कन्सल्टेन्सी इन्टरप्रेन्योर्स नेपाल (FECE, Nepal) ले नेपाल प्रहरीसँग शैक्षिक परामर्श व्यवसाय सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न गरेको थियो। उक्त कार्यक्रममा काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (SSP) विश्व अधिकारी सहित नेपालका विभिन्न शैक्षिक परामर्श संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
छलफलको सुरुआतमा IERIN का अध्यक्ष हेमन्त भट्टराईले स्वागत मन्तव्य दिएका थिए। उनले नेपालको शैक्षिक परामर्श क्षेत्रलाई पारदर्शी, व्यवस्थित र नैतिक बनाउन नीतिगत व्यवस्थाको आवश्यकतामा जोड दिएका थिए। साथै, सरकार, नेपाल प्रहरी र व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै, विद्यार्थीहरूको सुरक्षाका लागि नीतिगत कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।
उक्त छलफलमा FECE, नेपालसँगै ECAN, IERIN, NAAER, JALSAN, KECAN, EPCAN, र NEBA जस्ता प्रमुख शैक्षिक परामर्श संघसंस्थाहरूको सहकार्य रहेको थियो। यी सबै संस्थाहरूले नीतिगत कार्यान्वयन, लगानी सुरक्षाको प्रत्याभूति, र अवैध परामर्श संस्थाहरूको नियन्त्रणमा ध्यान केन्द्रित गरेका थिए।
फेडेरेसन अफ एजुकेशनल कन्सल्टेन्सी इन्टरप्रेन्योर्स नेपाल (FECE, Nepal)का केन्द्रीय समिति सदस्य प्रकाश पाण्डेले नेपालमा शैक्षिक परामर्श सेवाको वर्तमान अवस्थाबारे आफ्नो प्रस्तुति दिएका छन्।
ECAN अध्यक्ष शेषराज भट्टराईको संयोजनमा आयोजित प्यानेल छलफलमा SSP विश्व अधिकारी र FECE, नेपाल अध्यक्ष राजेन्द्र बराल प्यानलिस्टको रूपमा सहभागी भएका थिए। छलफलमा नेपालको संविधानको धारा ३१ र धारा १६ (घ) अनुसार, शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त नगरी शैक्षिक परामर्श सेवा सञ्चालन गर्न नपाइने प्रावधानबारे चर्चा गरिएको थियो।
FECE, नेपालका अध्यक्ष राजेन्द्र बरालले अवैध परामर्श संस्थाहरू र विदेशी कम्पनीहरूको अनधिकृत प्रवेशप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। उनले विद्यार्थीहरू ठगिन नपरोस् भन्ने उद्देश्यले कडा नीति कार्यान्वयन आवश्यक रहेको बताएका थिए।
त्यसक्रममा, SSP विश्व अधिकारीले नेपाल प्रहरीले आवश्यक निर्देशन पाएपछि अवैध संस्थाहरूविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले भने:
“कानुनी दायराभित्र काम गर्ने व्यवसायीहरूलाई डराउनुपर्ने कुनै अवस्था छैन। तर, अवैध रूपमा सञ्चालित संस्थाहरू र विद्यार्थीहरूलाई ठग्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको सामना गर्नुपर्छ।”
कार्यक्रमको समाप्तिमा NAAER का अध्यक्ष डा. उद्धव बहादुर खड्काले धन्यवाद ज्ञापन गरेका थिए। उनले शैक्षिक परामर्श व्यवसायलाई नैतिक, पारदर्शी र कानुनी रूपले सही ढंगबाट अगाडि बढाउन FECE, नेपाल तथा संलग्न संघसंस्थाहरू प्रतिबद्ध रहेको पुनः पुष्टि गरेका थिए।
यस छलफलले नेपालको शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी, मर्यादित र कानुनी रूपमा सुशासनयुक्त बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको थियो, जसले विद्यार्थीहरूलाई सुरक्षित वातावरण प्रदान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend