काठमाडौँ – स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को आगामी शनिवारका लागि तय गरिएको निर्वाचनमा अध्यक्ष पदका लागि हालका सल्लाहकार रामशरण ढकाल र वरिष्ठ उपाध्यक्ष उमेश कुश्वार बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।
मंगलबार साँझसम्म सम्पन्न मनोनयन दर्ता प्रक्रियामा अध्यक्ष पदका लागि यी दुई उम्मेदवार मात्रै अगाडि आएका हुन्। निर्वाचन अधिकृत तुलसी काफ्लाका अनुसार कुल २७ जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

उपाध्यक्ष पदका लागि ५ जना, महासचिवका लागि २ जना, सचिवका लागि ३ जना, कोषाध्यक्षका लागि २ जना, सह–कोषाध्यक्षका लागि १ जना र सदस्य पदका लागि १२ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन समितिका अनुसार उम्मेदवारी माथि दाबी–विरोध २४ गते सम्म गर्न सकिनेछ भने २६ गते उम्मेदवारी फिर्ता गर्ने अन्तिम म्याद तोकिएको छ। सोही दिन दिउँसो १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ।
यदि कुनै पदमा सर्वसम्मति नभएमा २७ गते निर्वाचन हुनेछ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend