गोरखा: नेपाल परिवार दलका अध्यक्ष, पूर्वमन्त्री तथा संघीय सांसद एकनाथ ढकालले राष्ट्रनिर्माता भीमसेन थापाका विचार र नीतिहरु आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ। गोरखा जिल्लाको बोर्लाङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले भीमसेन थापाको योगदान सम्पूर्ण नेपालीको साझा गौरव भएको उल्लेख गर्नुभयो।
नेपालका प्रथम मुख्तियार तथा राष्ट्रिय विभूति भीमसेन थापाको २५१औं जन्म जयन्तिको अवसरमा बोर्लाङ प्रतिष्ठानले आयोजना गरेको स्मृति समारोहमा प्रमुख अतिथिको रूपमा बोल्दै सांसद ढकालले भन्नुभयो, “भीमसेन थापाको पालामा भएको सुगौली सन्धीले नेपालको नक्शा तय गर्यो र अन्तर्राष्ट्रिय मान्यता पायो। उहाँ कुनै क्षेत्र विशेषको मात्र होइन, सम्पूर्ण नेपाली राष्ट्रको गर्व हो।”
भीमसेन थापाकै जन्मस्थल बोर्लाङमा जन्मिएका सांसद ढकालले सच्चा सम्मान देशभक्तिको आचरणबाट मात्र प्रकट हुने स्पष्ट गर्दै राष्ट्रियताको जगेर्ना गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया, भीमसेन गाउँपालिकाकी उपाध्यक्ष अमृता देवी वस्ती भट्ट र जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरत बहादुर विकले पनि भीमसेन थापाको योगदान र वर्तमान विकासको अवस्था माथि आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
सांसद ढकालले सोही दिन श्री सरस्वती उच्च माध्यमिक विद्यालयको भ्रमण गरी विद्यालय परिवारसँग अन्तरक्रिया गर्नुभयो। विद्यालय प्राचार्य, शिक्षक–शिक्षिका तथा व्यवस्थापन समितिका पदाधिकारीहरूसँग शिक्षाको गुणस्तर, रणनीति र भविष्यको योजना विषयमा खुला संवाद गर्दै विद्यालय सुधारप्रति आफ्नो चासो व्यक्त गर्नुभयो।
त्यसक्रममा उहाँले बोर्लाङस्थित निर्माणाधीन मस्तिज क्षेत्रको समेत अवलोकन गर्नुभयो र स्थानीय सम्भावना तथा पूर्वाधारको विकासका सम्भावनाबारे जानकारी लिनुभयो।
नेपाल परिवार दल गोरखा जिल्ला कार्य समितिले आयोजना गरेको अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै सांसद ढकालले जिल्लामा देखिएका संरचनागत चुनौतीहरूको समाधान र समग्र विकासका लागि आफू निरन्तर प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend