logo

२०८३ साउन १४ बिहिबार

डिभाइन युथ क्लब नेपालद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य साइकल र्याली सम्पन्न

डिभाइन युथ क्लब नेपालद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसरमा भव्य साइकल र्याली सम्पन्न


हाम्रो राष्ट्र
  • सोमबार, २० साउन २०८२
  • 2.3K
    SHARES

    काठमाडौं: आगामी श्रीकृष्ण जन्माष्टमी महोत्सवको पूर्वसन्ध्यामा डिभाइन युथ क्लब नेपालले काठमाडौं उपत्यकामा एक भव्य “सिटी साइकल र्याली” सम्पन्न गरेको छ। अध्यात्मप्रतिको चेतना अभिवृद्धि र महोत्सवको प्रचारप्रसारलाई लक्ष्य गरी आयोजना गरिएको र्यालीमा झण्डै २०० युवाको उत्साहजनक सहभागिता देखिएको थियो।

    र्यालीको शुभारम्भ आज बिहान ७:०० बजे पशुपतिनाथ मन्दिर परिसरस्थित वनकालीको श्री कृपालु स्मृति उद्यानबाट श्री राधा माधव समिति नेपालद्वारा शुभकामना सहित गरिएको थियो। सो अवसरमा साइकल यात्रीहरूले बत्तीसपुतली, पुरानो बानेश्वर, डिल्लीबजार, सुन्धारा हुँदै ऐतिहासिक वसन्तपुर—हनुमानढोका क्षेत्रसम्म यात्रा गरेका थिए।

    वसन्तपुर आगमनमा नेपाल स्काउट सिद्धिगणेश ओपन स्काउट तथा काठमाडौँ दरबार क्षेत्र पर्यटन प्रवर्द्धन संघले सहभागी युवाहरुलाई भव्य स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए। त्यस्तै, वसन्तपुर र पाटनस्थित कृष्ण मन्दिर परिसरमा आयोजित भजन, कीर्तन, सांस्कृतिक नृत्य एवं गायन कार्यक्रमहरूले सम्पूर्ण वातावरणलाई भक्तिमय बनाएको थियो। स्थानीय बासिन्दा र भक्तजनहरू श्रीकृष्णको भजनमा रमाउँदै आध्यात्मिक वातावरणमा समर्पित देखिन्थे।

    साइकल र्यालीको समापन टेकु, त्रिपुरेश्वर हुँदै पाटनको ऐतिहासिक कृष्ण मन्दिर परिसरमा गरिएको थियो। समापन समारोहमा डिभाइन युथ क्लब नेपालले उपस्थित सम्पूर्ण भक्तजन, स्थानीय बासिन्दा तथा युवा सहभागीहरूलाई श्रीकृष्ण जन्माष्टमीको मुख्य दिन, यही साउन ३१ गते, भक्तपुरको श्री भक्ति मन्दिर—श्याम श्याम धाम, राधे राधेमा आयोजना हुने विशेष धार्मिक कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ।

    आध्यात्मिकता र सामाजिक उत्तरदायित्वमा केन्द्रित संस्था
    सन् २०६७ मा नेपालका आध्यात्मिक सन्त स्वामी श्री हरिदाजी महाराजको प्रेरणामा स्थापना गरिएको डिभाइन युथ क्लब नेपाल विगतदेखि नै देशभरका युवाहरुलाई लक्षित गरी अध्यात्म, नैतिक शिक्षा, सेवा भावना र सांस्कृतिक संरक्षणमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

    क्लबले विद्यालयस्तरीय जागरण कार्यक्रम, ध्यान शिविर, सार्वजनिक स्थान सरसफाइ, रक्तदान, वृक्षारोपण लगायतका विविध सामाजिक गतिविधिहरू सञ्चालन गर्दै युवाहरूमा सकारात्मक जीवनदृष्टिकोण र समाजप्रतिको उत्तरदायित्वको भावना विकास गर्न निरन्तर क्रियाशील रहँदै आएको छ।

    युवाहरुलाई सत्कर्मप्रति प्रेरित गर्ने उद्देश्यले सञ्चालन हुँदै आएका यस्ता अभियानहरूप्रति विभिन्न सामाजिक अगुवा, आध्यात्मिक व्यक्तित्व तथा स्थानीय समुदायबाट समेत डिभाइन युथ क्लब नेपालले प्रशंसा पाउँदै आएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend