काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा रहेकाे कमिकमजाेरी हटाउन र समाजमा रहेकाे असन्तुष्टि मेटाउनका लागि भूमिका निरवाह गर्न नेविसंघलाई सुझाव दिनुभएकाे छ । नेपाल विद्यार्थी संघ काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम एवम् विद्यालय शिक्षा विधेयक सम्बन्धि सचेतना सभालाई सम्बाेधन गर्दै उहाँले परिवर्तित समयअनुसार नेविसंघकाे भूमिका परिष्कृत हुनपर्नेमा उहाँले जाेड दिनुभयाे । उहाँले नेविसंघका गतिविधि शिक्षा क्षेत्र, अभिभावक र विद्यार्थी सबैले रूचाउने ढँगले अगाडी बढाउन पनि नेविसंघ नेतृत्वलाई सुझाव दिनुभयाे ।
`अहिलेकाे परिवर्तित समयमा नेविसंघले विद्यार्थीका मुद्दा राम्राेसँग पहिचान गरेर सम्बाेधन गर्नतर्फ लाग्नुपर्छ । शिक्षामा कमिकमजाेरी हटाउन र समाजमा रहेकाे असन्तुष्टि मेटाउन नेविसंघले काम गराेस् , उहाँले भन्नुभयाे । शिक्षा क्षेत्रलाई राम्राेसँग अघि बढाउँदा समाज गतिशिल हुने भन्दै शैक्षिक सुधारमा जाेड दिनुभयाे । नेविसंघ काठमाडौंका पूर्वअध्यक्ष समेत रहिसकेका सिंहले नविसंघकाे महाधिवेशन नजिकिएकाे भन्दै उपयुक्त व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनका लागि अहिलेबाटै लाग्न पनि विद्यार्थीहरूलाई सुझाव दिनुभयाे ।
उहाँले संसदमा शिक्षा विधेयक प्रक्रियामा रहेकाे र यसले शिक्षामा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयाे । कार्यक्रममा नेपाली कांग्रेस शिक्षा विभागका प्रमुख नैनसिंह महरले नेविसंघले विगतमा खेलेकाे भूमिकाकाे चर्चा गर्दै नेविसंघलाई गतिशिल बनाउनुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा नेविसंघ काठमाडौं जिल्लाका पूर्वअध्यक्षहरलाई सम्मान पनि गरिएकाे नेविसंघ काठमाडौंका अध्यक्ष अंशुल केसीले बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend