logo

२०८३ साउन १३ बुधबार

“पूर्वाग्रहका आधारमा ठेक्का तोडिँदा व्यवसायी धरासायी बन्ने खतरा: अध्यक्ष सिंह”

“पूर्वाग्रहका आधारमा ठेक्का तोडिँदा व्यवसायी धरासायी बन्ने खतरा: अध्यक्ष सिंह”


हाम्रो राष्ट्र
  • मंगलबार, २४ मंसिर २०८२
  • 1.1K
    SHARES

    काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीमाथि पूर्वाग्रहका आधारमा ठेक्का तोडिनुले व्यवसायीहरू धरासायी हुने खतरा बढेको आरोप लगाएका छन्। नेपाल पूर्वाधार पत्रकार समाज र महासंघको सहकार्यमा काठमाडौंमा आयोजित ‘रुग्ण ठेक्का व्यवस्थापन’ विषयक सरोकारवाला संवाद कार्यक्रममा बोल्दै उनले ठेक्का तोडिने प्रक्रियामा व्यवसायीलाई ‘भिक्टिम’ बनाइएको बताए।

    उनका अनुसार १५ वर्षसम्म रोकिएका तथा समस्याग्रस्त परियोजनामा जिम्मेवार अधिकारीमाथि कुनै कारबाही नहुँदा सम्पूर्ण दोष निर्माण व्यवसायीमाथि नै थोपारिँदै आएको छ। एक कम्पनीको ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको कार्य सम्पादन जफत गर्ने निर्णयले कम्पनी सञ्चालनमै बाधा सिर्जना भएको उदाहरण उनले प्रस्तुत गरे।

    सिंहका अनुसार ठेक्का तोडिँदा पूर्वाधार क्षेत्र मात्र होइन, सम्पूर्ण आपूर्ति श्रृंखला, उद्योग र अर्थतन्त्रमै नकारात्मक प्रभाव पर्छ। राजनीतिक नेतृत्वले निर्वाचन क्षेत्रमुखी परियोजना छनोट गर्ने प्रवृत्तिका कारण पनि ठेक्का रुग्ण बन्ने अवस्था बनिरहेको उनले उल्लेख गरे।

    सचिवदेखि विभागीय प्रमुख तथा परियोजना प्रमुखसम्मको समान जिम्मेवारी हुँदाहुँदै पनि दोष केवल निर्माण व्यवसायीमाथि थोपारिनु अन्यायपूर्ण भएको उनको आरोप छ। जथाभावी ठेक्का तोड्ने प्रवृत्ति र राष्ट्र बैंकको कठोर कालोसूची नीतिले समस्या झन् गम्भीर बन्दै गएको उनले बताए। संयुक्त ठेक्कामा एक कम्पनीको गल्तीका कारण अन्य कम्पनीहरू समेत मर्कामा पर्ने अवस्थामाथि पनि उनले चिन्ता व्यक्त गरे।

    अन्त्यमा अध्यक्ष सिंहले भविष्यमा ठेक्का रुग्ण नबन्न सरकार जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend