logo

२०८३ साउन १३ बुधबार

“स्वतन्त्रताको अवस्थामै साँचो सुख” : जापानी लेखक काजु योशिदाको ‘अटोमेटिक फ्रिडम’ लोकार्पण

“स्वतन्त्रताको अवस्थामै साँचो सुख” : जापानी लेखक काजु योशिदाको ‘अटोमेटिक फ्रिडम’ लोकार्पण


हाम्रो राष्ट्र
  • सोमबार, २१ पुष २०८२
  • 4.4K
    SHARES

    काठमाडौं । रिकिशीको आयोजनामा जापानी लेखक काजु योशिदाद्वारा लिखित आध्यात्मिक कृति Automatic Freedom को आज एक विशेष समारोहबीच लोकार्पण गरिएको छ। गण्डकी विश्वविद्यालयका पूर्वकुलपति प्रा. डा. गणेशमान गुरुङ र स्वामी डा. चिन्तामणीनाथ योगीले संयुक्त रूपमा पानसमा दीप प्रज्ज्वलन गर्दै पुस्तक सार्वजनिक गर्नुभएको हो।

    कार्यक्रमका सभापति वरिष्ठ विद्वान डा. रामप्रसाद दाहाल रहनुभएको थियो। कृतिको सन्दर्भमा धारणा राख्दै स्वामी डा. चिन्तामणीनाथ योगीले पुस्तकले विश्वशान्ति, आनन्द, सद्भाव, एकता र मित्रताको भावमा रमाउन प्रेरणा दिने सन्देश बोकेको बताउनुभयो। यस्तै, प्रा. डा. गणेशमान गुरुङले जीवनको आध्यात्मिक उज्यालो पाटोतर्फ उन्मुख हुँदा नै वास्तविक शान्ति प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा प्रा. डा. हरि शर्मा, इन्जिनियर महेश सिंह कठायत र प्रा. हरि निरोलाले Automatic Freedom अत्यन्तै विशिष्ट र पढ्नैपर्ने कृति भएको उल्लेख गर्दै लेखकले यसलाई उपयोगिताको सिद्धान्तमा आधारित गरी निर्माण गरेको अनुभूति व्यक्त गर्नुभयो।

    कृतिका लेखक काजु योशिदाले नेपाल आएर यस्ता विद्वानहरूसँग गहन छलफल गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै अवसर प्रदान गर्ने रिकिशी परिवारप्रति आभार प्रकट गर्नुभयो। साथै, रिकिशीकी अध्यक्ष उषा गिरीप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो। विद्वान लेखक डा. रामप्रसाद दाहालले कृतिको समग्र सार र लेखकको जीवनीमाथि विस्तृत प्रकाश पारेकामा कृतिकारले कृतज्ञता व्यक्त गर्नुभयो।

    कार्यक्रममा रिकिशीकी अध्यक्ष उषा गिरीले स्वागत मन्तव्य दिनुभएको थियो भने कल्पना गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    सभापतिको मन्तव्यका क्रममा डा. रामप्रसाद दाहालले Automatic Freedom को सारांश प्रस्तुत गर्दै भन्नुभयो— यो पुस्तकले ब्रह्माण्ड, स्वतन्त्रता, चेतना (पुरुष) र आत्माको अस्तित्वसम्बन्धी गहिरा सिद्धान्तहरू उजागर गर्दछ। पुस्तकको मूल सन्देश अनुसार वास्तविक स्वतन्त्रता भनेको “आफूले चाहेको गर्ने, जब चाहेको गर्ने” अवस्था हो, जुन तब सम्भव हुन्छ जब ‘म’ भन्ने अहंकारको भ्रम समाप्त भई व्यक्ति सार्वभौमिक चेतना अर्थात् पुरुषसँग एकीकृत हुन्छ।

    कृतिमा समय र स्मृति भ्रम भएको, सबै घटनाहरू वर्तमान क्षणमै घट्ने, स्वतन्त्र इच्छा पुरुषद्वारा नै निर्धारित हुने तथा भावना–विचारलाई उपेक्षा गर्दै जानु नै दुःखबाट मुक्तिको मार्ग भएको दर्शन प्रस्तुत गरिएको छ। साथै, ब्रह्माण्ड पवित्र ज्यामितीय संरचनामा आधारित रहेको र “१ = अनन्त = ०” को अवधारणामार्फत अस्तित्वको गहिरो अर्थ व्याख्या गरिएको छ।

    अन्त्यमा पुस्तकले यही निष्कर्ष दिन्छ— ‘म’ को भ्रम टुङ्गिएपछि र आफूलाई विश्वव्यापी चेतनासँग एक रूपमा अनुभूति गर्न सकेपछि स्वतन्त्रता, आनन्द र साँचो सुख स्वाभाविक रूपमा प्राप्त हुन्छ, जसका लागि अलग प्रयास आवश्यक पर्दैन, किनभने हामी पहिले नै त्यही हौं।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend