काठमाडौं : श्री अमृत गङ्गा आयोजन समितिको आयोजनामा काठमाडौंको न्यूरोडमा सप्ताहव्यापी श्री रामकथा महोत्सव तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
महोत्सवमा हरिद्वार निवासी राष्ट्रिय सन्त स्वामी नवराज प्रपन्नाले गोस्वामी तुलसीदासद्वारा रचित रामायण मा केन्द्रित रहेर भगवान रामको आदर्श जीवन, प्रेम, समता, सद्भाव, भ्रातृत्व तथा मानव मूल्यका पक्षहरूलाई अत्यन्तै सुन्दर, आकर्षक र रसपूर्ण शैलीमा कथा वाचन गर्नुभयो। उहाँले तुलसीदासले अमृतमय पदावलीमार्फत प्रस्तुत गरेको गहन ज्ञान इहलोक र परलोक दुवैका लागि कल्याणकारी र व्यवहारिक रहेको स्पष्ट पार्नुभयो।
शिवभूमि पशुपतिनाथ र माता गुहेश्वरीको सानिध्यमा यस प्रकारको दिव्य रामकथा श्रवण र वाचन हुनु स्वयं ईश्वरीय कृपा भएको उल्लेख गर्दै स्वामी प्रपन्नाले रामकथाको सारतत्त्वले जीवनलाई सकारात्मक दिशामा मार्गदर्शन गर्ने बताउनुभयो।
सोही अवसरमा शिक्षाविद्, वरिष्ठ साहित्यकार, सांस्कृतिक तथा सामाजिक अभियन्ता तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य एवं प्रवक्ता डा. रामप्रसाद दाहाललाई विशेष सम्मान प्रदान गरिएको थियो। मूल कथा वाचक स्वामी प्रपन्नाले डा. दाहालद्वारा लिखित “देवग्रन्थको सार हो हरिद्वार” लगायत करिब दुई दर्जन कृतिमार्फत साहित्य, संस्कृति र अध्यात्मको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै महोत्सवमा सम्मान गरिएको जानकारी गराउनुभयो।
सम्मानपछि मन्तव्य व्यक्त गर्दै डा. दाहालले काठमाडौंमा आएर शिव र रामको गाथा समेटिएको बृहद् कार्यक्रमको सुमधुर कथा श्रवण गर्न पाउँदा मन अत्यन्तै आनन्दित भएको बताउँदै अमृत गङ्गा परिवार, आयोजक समिति तथा रामकथाका वाचक स्वामी नवराज प्रपन्नाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय सन्त स्वामी नवराज प्रपन्न (हरिद्वार), श्री राजकुमार मोर (गुवाहाटी, असम), कर्नेल जेठू सिंह शेखावत (जयपुर), लेफ्टिनेन्ट पृथ्वी सिंह शेखावत (जयपुर), योग गुरु तेजकुमार (हरिद्वार) लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। भारतका जयपुर, हरिद्वार, गुवाहाटी तथा असमबाट करिब २०० जनाको सहभागिताले महोत्सवलाई अझ भव्य बनाएको थियो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend