काठमाडौं । ललितपुर जिल्ला को कोन्ज्योसोम गाउँपालिका–१ मा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार लेलेबाट बालुवा बोकेर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति करिब ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्रक चालक र एक जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ट्रक चालक गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापा रहेका छन्, जसको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
घाइते अवस्थामा उद्धार गरिएका अन्य दुई पुरुषको पाटन अस्पताल मा उपचारका क्रममा मृत्यु भएको हो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए। उनीहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend