काठमाडौं । नेपाल सरकारले देशभर अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजी (बेटिङ) प्लेटफर्महरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ अन्तर्गत यस्तो निर्णय गरेको हो।
कार्यसूचीको बुँदा नम्बर ४२ मा अवैध अनलाइन बेटिङ एप तथा वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न स्पष्ट निर्देशन दिइएको छ। सरकारका अनुसार यस्ता प्लेटफर्ममार्फत अवैध आर्थिक कारोबार बढ्नुका साथै ठूलो मात्रामा पुँजी बाहिरिने क्रम तीव्र भएको निष्कर्ष निकालिएको छ।
निर्णय कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई तत्काल आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ। मन्त्रालयले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी त्यस्ता वेबसाइट र एपहरू बन्द गर्ने तयारी थालेको जनाएको छ।
सरकारले अनलाइन सट्टेबाजीले विशेषगरी युवा पुस्तालाई कुलतमा फसाउने, आर्थिक रूपमा जोखिममा पार्ने र देशको अर्थतन्त्रमा नकारात्मक असर पार्ने ठहर गर्दै अब यस क्षेत्रमा ‘शून्य सहनशीलता’ नीति अपनाइने स्पष्ट पारेको छ।
सरकारको यो निर्णयसँगै अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन बेटिङ प्लेटफर्महरू विरुद्ध कडा निगरानी र कारबाही समेत अघि बढाइने जनाइएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend