काठमाडौं । महिलाहरूको सुरक्षित, सहज र सम्मानजनक आवागमन सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकारले देशभर निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ। शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गर्दै सरकारले महिलामैत्री सार्वजनिक यातायात सेवा सुरु गर्ने महत्वाकांक्षी योजना अघि सारेको हो।
सरकारले पहिलो चरणमा आगामी १०० दिनभित्र कम्तीमा २५ वटा ‘ब्लु बस’ सञ्चालनमा ल्याउने लक्ष्य निर्धारण गरेको छ। ती बसहरू मुख्य सहरी क्षेत्र तथा बढी यात्रु चाप हुने रुटहरूमा सञ्चालन गरिनेछ। पहिलो चरण सफल भएपछि यो सेवालाई क्रमशः विस्तार गर्दै सातै प्रदेशका प्रमुख शहर तथा आवश्यक अन्य क्षेत्रमा पनि पुर्याइने सरकारको योजना रहेको छ।
सार्वजनिक यातायातमा यात्रा गर्ने क्रममा महिलाहरूले असुरक्षा, दुर्व्यवहार, भीडभाड, अभद्र व्यवहार तथा विभिन्न प्रकारका असहज परिस्थितिहरू भोग्दै आएको गुनासोलाई सम्बोधन गर्न यो योजना ल्याइएको सरकारको भनाइ छ। ‘ब्लु बस’ सेवा विशेषगरी महिलाहरूका लागि सुरक्षित वातावरणमा यात्रा गर्न सकिने व्यवस्था सहित सञ्चालन गरिनेछ। बसमा आवश्यक सुरक्षाकर्मी, निगरानी प्रणाली, प्राथमिक उपचार सामग्री लगायतका सुविधा पनि राखिने बताइएको छ।
यस कार्यक्रमअन्तर्गत महिलाहरूलाई निःशुल्क यात्रा सुविधा उपलब्ध गराइनेछ। सरकारले यसलाई महिला सशक्तीकरण, समान पहुँच, सुरक्षित आवागमन र सार्वजनिक सेवा सुधारसँग जोडिएको महत्वपूर्ण सामाजिक कार्यक्रमका रूपमा लिएको छ। यसले विशेषगरी विद्यार्थी, कामकाजी महिला, ज्येष्ठ नागरिक महिला तथा आर्थिक रूपमा कमजोर वर्गका महिलाहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
सरकारका अनुसार ‘ब्लु बस’ सेवा सञ्चालन भएपछि महिलाहरूको आत्मविश्वास बढ्ने, उनीहरूको सार्वजनिक स्थानमा सहभागिता बढ्ने र रोजगारी, शिक्षा तथा अन्य अवसरमा पहुँच विस्तार हुने विश्वास गरिएको छ। साथै, यस योजनाले सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित, अनुशासित र सेवामुखी बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आगामी दिनमा सेवा प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित मन्त्रालय, यातायात व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकायबीच समन्वय गरेर काम गरिने सरकारको तयारी रहेको छ। सरकारको विश्वास छ कि यो योजना कार्यान्वयनमा आएपछि देशभरका महिलाहरूले सुरक्षित र सम्मानजनक रूपमा यात्रा गर्न पाउने वातावरण निर्माण हुनेछ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend