काठमाडौं : प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर शाही ले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह सँग भेटवार्ता गरी कर्णाली प्रदेशसहित समग्र नेपालको दिगो विकासका विविध विषयमा ध्यानाकर्षण गराएका छन्। भेट अत्यन्त सकारात्मक, फलदायी र ऊर्जावान वातावरणमा सम्पन्न भएको बताइएको छ।
भेटका क्रममा कर्णाली क्षेत्रको समग्र विकास, आधारभूत पूर्वाधार सुदृढीकरण, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगजस्ता महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल भएको थियो। विशेषगरी कर्णालीका सडक स्तरोन्नति, सञ्चार सेवा विस्तार, दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत सेवामा पहुँच पुर्याउने विषयमा जोड दिइएको थियो।
यसैगरी, कर्णालीको समावेशी विकासमार्फत राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको र संघीय सरकार तथा स्थानीय तहबीच सहकार्य गरेर विकासलाई तीव्रता दिने विषयमा पनि सकारात्मक समझदारी बनेको जनाइएको छ।
उक्त भेटले कर्णाली प्रदेशको दीर्घकालीन विकासका लागि नीतिगत पहल, योजना निर्माण तथा कार्यान्वयनका लागि सहकार्य गर्ने वातावरण बनेको र आगामी दिनमा ठोस परिणाम आउने विश्वास व्यक्त गरिएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend