काठमाडौं : संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको प्राथमिकता, सुशासन, जवाफदेहिता र परिणाममुखी काममा केन्द्रित हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अब भाषण भन्दा कामले सरकारको मूल्यांकन हुने बताएका छन्।
उनले रास्वपाले “हनिमुन पिरियड” नचाहिने भन्दै दिन होइन, सेकेन्ड गनेर काम गर्ने बताएका छन्। सरकारको कामको गति बढिसकेको र अब कर्मचारीतन्त्रसहित देशले यही गतिमा अघि बढ्नुपर्ने उनले उल्लेख गरे। साथै, जायज भए विपक्षी दलका चुनावी प्रतिबद्धता पनि कार्यान्वयन गर्न तयार रहेको बताए।
उनले विगतका एकल बहुमतका सरकारहरू इतिहासमा सीमित भएको उल्लेख गर्दै प्रश्न गरे— समस्या दृष्टिकोणमा थियो, प्राथमिकतामा, पारदर्शितामा कि कार्यान्वयनमा? इतिहासबाट सिकेर परिणाम दिने गरी काम गर्ने उनको भनाइ थियो।
लामिछानेले आफूहरू प्रश्न सोध्ने ठाउँबाट उत्तर दिने ठाउँमा आएको भन्दै अब समस्या देखाउने मात्र होइन, समाधान दिने जिम्मेवारी पनि आफ्नो भएको बताए। उनले प्रतिपक्षी दललाई सरकारको २४ सै घण्टा निगरानी गर्न आग्रह गरे।
उनले संसद बहसको थलो हुने तर प्रतिशोधको राजनीति नहुने बताए। सुशासनको अभियान रोकिने छैन भन्दै न्याय पाउने पहिलो अधिकार सहिद परिवारको भएको उल्लेख गरे।
सम्बोधनका क्रममा उनले दलित समुदायमाथि इतिहासभरि भएको विभेदका लागि संसदबाट सार्वजनिक रूपमा क्षमायाचना व्यक्त गरे। अब कुनै पनि नेपाली जातका आधारमा झुक्न नपर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति राज्यले गरेको उपेक्षाका लागि पनि उनले क्षमा माग्दै अब उनीहरूको पीडा नीति र राज्यको प्राथमिकता बन्ने बताए।
उनले अन्त्यमा देशको समृद्धि, जनताको जीवनस्तर सुधार र न्यायपूर्ण समाज निर्माण सबैको साझा लक्ष्य हुनुपर्ने उल्लेख गर्दै सहकार्य, उत्तरदायित्व र परिवर्तनको नयाँ अध्याय सुरु भएको बताए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend