काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई उपचाररत अवस्थामै अस्पतालबाट परिवारको जिम्मा लगाइएको हो। अब उनको स्वास्थ्य अवस्था मूल्याङ्कन गरी चिकित्सकको सल्लाहअनुसार आगामी कदम चालिने प्रहरीले जनाएको छ।
ओलीलाई चैत १४ गते गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो। उनीमाथि ‘जेनजी आन्दोलन’ मा दमन गरेको आरोप लगाइएको थियो। पक्राउपछि स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
यसबीच उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्। अदालतले चैत २३ गतेसम्म अनुसन्धान सम्पन्न गर्न निर्देशन दिएको थियो। साथै, तोकिएको समयभित्र अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न आदेश दिएको थियो।
यसै सन्दर्भमा पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि रिहा गर्ने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend