काठमाडौँ, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ (FECE Nepal) ले सरकारद्वारा अनुमति नलिई गैरकानुनी रूपमा सञ्चालन गरिएका शैक्षिक परामर्श संस्थाहरूमाथि चालिएको कानुनी कारबाहीको कदमप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गरेको छ ।
गत जेठ १ गते शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी उपत्यका अनुसन्धान कार्यालय, टेकुद्वारा जारी प्रेस विज्ञप्ति र त्यसपछि चालेको कदमप्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०४९ तथा ‘शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका, २०७३’ बमोजिम स्वीकृति नलिई सञ्चालन भएका संस्थाहरूमाथि गरिएको अनुसन्धान तथा कारबाही प्रक्रियालाई महासंघले स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै आफ्नो मातहतमा रहेका आठवटै सदस्य संघहरू (ईक्यान, आइरिन, नायर, जाल्सान, एपक्यान, केक्यान, एईक्यान तथा नेवा) मा आबद्ध देशभरिका कम्पनीहरू प्रचलित कानुन र सम्बन्धित प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वीकृति लिई कानुनी रूपमा सञ्चालन भइरहेको प्रष्ट पारेको छ । तसर्थ, सम्पूर्ण वैध सदस्य संस्थाहरूलाई कुनै पनि प्रकारको भ्रम, डर, त्रास वा मानसिक दबाबमा नपरी निर्धक्क रूपमा सेवा प्रवाह गर्न महासंघले अनुरोध गरेको छ ।
विगत ३६ वर्षदेखि देशको शिक्षा र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको यस क्षेत्रमा पछिल्लो समय व्यक्तिगत असन्तुष्टि, भिसा अस्वीकृति, वा अन्य स्वार्थ प्रेरित गतिविधिका आधारमा व्यवसायीहरूलाई अनावश्यक दुःख दिने, मानसिक दबाब दिने र मोलमोलाइ गर्ने प्रवृत्ति बढेको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।
यस्ता गतिविधिहरूबाट सचेत रहन सदस्यहरूलाई आग्रह गर्दै महासंघले यस्ता विवादहरूको समाधानका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र शिक्षा मन्त्रालयलाई महासंघका प्रतिनिधिहरूसँग समन्वय गरी निष्पक्ष र कानुनसम्मत ढंगले प्रक्रिया अघि बढाउन हार्दिक अनुरोध गरेको छ । कानुन कार्यान्वयनका नाममा निर्दोष र कानुनी रूपमा चलिरहेका व्यवसायीहरूको प्रतिष्ठामा आघात पुग्न नहुने कुरामा महासंघले जोड दिएको छ ।
महासंघले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई पनि कुनै पनि परामर्श सेवा वा पूर्वतयारी कक्षाका लागि शिक्षा मन्त्रालय तथा प्रदेश सरकारबाट विधिवत् स्वीकृति प्राप्त संस्थाहरू र महासंघमा आबद्ध कम्पनीहरूबाट मात्र सेवा लिन हार्दिक अपिल गरेको छ । साथै, व्यवसाय सञ्चालनका क्रममा कुनै नीतिगत वा प्रशासनिक समस्या आएमा तत्काल महासंघका पदाधिकारीहरूसँग समन्वय गर्न समेत सम्पूर्ण व्यवसायीहरूलाई सूचित गरिएको छ ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend