logo

२०८३ साउन १४ बिहिबार

नेपाली सेनाको सङ्ख्या सरकारले निर्धारण गर्ने हो, स्वघोषित विज्ञले होइनः प्रधानसेनापति शर्मा

नेपाली सेनाको सङ्ख्या सरकारले निर्धारण गर्ने हो, स्वघोषित विज्ञले होइनः प्रधानसेनापति शर्मा


हाम्रो राष्ट्र
  • बिहिबार, ९ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन् ।

    भूतपूर्व सैनिक सम्मेलनको बिहीबार पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै प्रधानसेनपति शर्माले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने बतँएका हुन् ।

    उनले भने, “यो कुनै आइएनजिओ÷एनजिओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो ।”

    प्रधानसेनापति शर्माले यस्ता अनर्गल र झुठा प्रचारबाट टाढा रहन पनि आग्रह गरे । उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गर्दै आएको पनि बताए ।

    देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताए ।

    प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता तथा ज्ञान, सीपहरूलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सदैव जनताको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गरे ।

    पूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताए ।

    सैनिक कल्याणकारी कोषमा हाल ७३ अर्ब, १३ करोड रकम रहेको र १० लाख हिताधिकारीलाई सो रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उनले जानकारी दिए ।

    कार्यक्रममा ज्येष्ठ भूपू सैनिक ९२ वर्षीय गोमानसिंह कार्की र ज्येष्ठ एकल महिला ८९ वर्षीया मषिकलता थापा क्षेत्रीलाई सम्मान गरिएको थियो । यसैगरी लघु उद्यम व्यवसायीहरुलाई सम्मान तथा पुरस्कार वितरण, उद्यमी व्यवसायीहरूलाई महिला उद्यमशीलता कर्जाको चेक हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा भूपू सैनिकहरूबाट मार्चपास, जिल्लागतरूपमा भूपू सैनिकहरू तथा एकल महिलाहरूको मार्चपास, स्थान विशेषका झाँकीहरूको प्रदर्शन, खुकुरी ड्रिल, तेक्वान्दो, पिटी तथा मार्चपास र विभिन्न संस्कृतिहरूको प्रदर्शनी गरिएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend