कर्णाली । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताएका छन् ।
कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा शनिबार सुर्खेत आइपुगेका भट्टराईले वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमामा नेकपा (माओवादी केन्द्र)सँग मात्र नभई त्यसबाहेक अन्य कम्युनिष्ट दलहरूसहितको एउटा समाजवादी धारा निर्माण गर्ने अवधाराणा बनाइएको बताए । यसका लागि बृहत् छलफल भइरहेको भन्दै अध्यक्ष भट्टराईले केन्द्र सरकारले पूर्णता पाएपछि एकताका विषयमा छलफल सुरु हुने जानकारी दिए ।
उनले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही तरिकाले अघि बढ्न नसकेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिए । उनले भने, “वर्तमान सरकारसँग शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने अभिभारा छ । मुलुकलाई समृद्धिको दिशामा हाँक्नुपर्ने जिम्मेवारी छ ।” यो गठबन्धन दिगो हुनेमा भने अध्यक्ष भट्टराईले पूर्णरूपले विश्वस्त नरहेको तर्क गरे ।
राजनीति शक्ति केन्द्र भएकाले मुलुकमा कति बेला के हुन्छ भन्ने थाहा नहुने भन्दै उनले वर्तमान सरकार स्थिर भएर अगाडि बढ्न सकेमात्र देशले सही गति लिने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर गरिएको मुद्दा शान्ति प्रक्रियाको मर्मविपरीत भएको टिप्पणी गरे ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend