काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्ने भएका छन् । बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रधानमन्त्रीले सरकार विस्तार गर्न लागेका हुन् ।
जसअनुसार हाल रिक्त रहेको १६ वटा मन्त्रालयसहित २५ वटा मन्त्रालयको भागबन्डा टुगो लागेको जनाउँदै आज अपरान्ह सपथ ग्रहण गराउने गरी भागवन्डा टुंगिएको हो ।
बुधबार बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।
यो सहमतिपछि प्रचण्ड सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउनका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ भने नेकपा एकीकृत समाजवादीले बुधवार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएर उपाध्यक्ष बेदुराम भुषाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । उता, सरकारमा सहभागितालाई लिएर अन्य राजनीतिक दलले भने आज नै निर्णय लिने गरी बैठक बोलाएका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend