logo

२०८३ साउन १५ शुक्रबार

यसैबाट सादृष्यमा आउँछ कलात्मक अनुभूति

यसैबाट सादृष्यमा आउँछ कलात्मक अनुभूति


हाम्रो राष्ट्र
  • शुक्रबार, १७ चैत्र २०७९
  • 1.1K
    SHARES

    – नगेन्द्र प्र. पौड्याल

    काठमाडौं। हामी होटल क्वालिटी ईन, गुल्सन २ बाट यन्त्रगाडी चढेर मीरपुर हिड्यौं। हामी लोक चित्रकार एस सी सुमन, मूर्तिकार–चित्रकार अनुराधा थापा, सामयिक कलाकार रामपुजन ठाकुर र होनहार पौभा चित्रकार उजय बज्राचार्य थियौं।

    मैले टोली भित्रका छविकार विकाश रौनियारलाई सम्झिएँ। यसो त विदा लिएरै उनी कलकत्ता तर्फ मोडिईसकेका थिए। सबै आआफ्ना विषयका स्थापित प्रतिभाहरू । अत्यन्त सन्तुलित समूह संयोजन। अरू पनि र स्थानिय थिए। यस आयोजनाको नायक सलाहुद्दिन कुटु, उनका मित्र महम्मद अमिनुर रहमान, सहयोगी रिङ्कु र गाडि चालक।

    गाडीभरि चित्रकार सुमन के के हो गमिरहेका थिए। सुमन नेपालमा मुलतः मिथिला लोक चित्रकलाका नायक प्रतिभाका रूपमा चिनिन्छन्। केही वर्षयता सुमन लेखन तर्फपनि खिचिएका छन्। आजको सन्दर्भ भने अलि फरक थियो। यिनी सायद यहि गम्दै थिए कि आज के वा कस्तो मूर्ति बनाउने होला, आदि। अथवा, भर्खरै मात्र एउटा लेख प्रकाशित गरेका थिए, हुनसक्छ उनी कुन विषयमा लेख्ने गमिरहेका हुन् !

    कमसेकम सडक हिजो अस्तिकै स्तरको अस्तव्यस्त र भिडभाड थिएन। यन्त्रगाडी अलिकति मोडियो र रोकियो । हामी गाडीबाट ओर्लियौं। मीरपुर ! वाङ्लादेशको राजधानी ढाका। अर्थात मीरपुर, ढाका, वाङ्लादेश !

    एउटा कालो वर्णको फष्टाएको मोट‍ो मानिस हाम्रो अगाडि देखापर्यो। फुलिसकेको र नकाटेको बाँधेको लाम‍ो कपाल ! कालोबाट पनि प्रकाशिलो उँज्यालो अनुहार र फिस्स बान्कीको सेतो मुस्कान। त्यस मानिसले हाम्रो सहृदय स्वागत गर्यो।

    परिचित मानिस हो, टोपु खाँन ! ढाकामा मृत्तिका–कलाका स्थापित र सुविख्यात मूर्तिकार। फुलिसकेको नकाटेको लामो तर पछाडिपट्टि समेटेर बाँधेको कपाल भएका उनै टोपु खाँनको ढाका, मीरपुर स्थित विख्यात ब्रण्ट क्ले स्टुडियो। केही अपरिचित मानिसहरू।

    सन् ञ१५ मा ढाकामा नै भेटभएको हो मेरो टोपु खाँनसँग, जब म एउटा साँस्कृतिक आदान प्रदान कार्यक्रममा चित्रकारका स्थानमा सहभागी रहेको थिएँ। कार्यक्रम जरा फाउण्डेसन, नेपाल र रूट वाङ्लादेश, ढाकाको आयोजनामा रहेको थियो । मेरो एकल चित्रकार्य र एकल प्रदर्शनी थियो कार्यक्रममा।

    एउटी मझौलो कदकी युवती पनि उपस्थित थिईन् हाम्रा अगाडी यसबेला। युवती यस अर्थमा कि उनी विवाहित भएको मैले देखेको होईन। “सिन्दूर, पोते, चूरा, सारी र चोली“ नदेखेपछि २५–२८ वर्षकी लाग्ने उनी मेरालागी युवती नै थिईन् । साँच्चै उनले पुतली जस्ति देखिने पहिरन पहिरिएकी थिईन्। मलाई यत्ति चाहीँ थाह थियो, हेर्दै उनी मूर्तिकार नै थिईन्। ताञ्जिला।

    ताञ्जिला समेत हामीलाई स्वागत गर्न तम्सिईन्। उपस्थित सबै अपरिचितहरू हाम्रो उपस्थितिले गदगदिए । दुईवटा कुकुरहरूले एकैसाथ भुके, मानौ हाम्रो सातो जान्थ्यो । सातो गएन, हामी सबैजना स्टूडियोको मूल बैठक कक्षतर्फ डोरिईयौं । जतासुकै छताछुल्ल मृत्तिका–कला।

    नेपाल र वाङ्लादेशका विभिन्न चित्रकार र मूर्तिकारहरू । वाङ्लादेश तर्फका गुलाम रसुल नयन, एम आर दिदार, कृष्ण दे चट्टोपाध्याय, एस एम मिजानुर रहमान, फरिसा महमुद् र ताञ्जिला सिद्दिकी । एक छविकार, एक सहयोगी रिङ्कू र एक मृत्तिकामय वातावरण।

    वाङ्लादेश र नेपालबीच दौत्य र कुटनैतिक सम्बन्धको पचासौं वर्षोत्सवका अवसरमा नेपालको दूतावास, ढाका र वाङ्लादेश–नेपाल मैत्री समाज, ढाकाले सन् ञ२३ को मार्च १४ देखि १८ सम्म ढाकामा गरेको कला र संस्कृति महोत्सवको सन्दर्भ हो यो । मृत्तिका–कला कार्यशाला।

    सानो छँदा चकचक र खसखसका रूपमा माटो खेलाएर चराचुरूङ्गी बनाएको याद छ । चित्रकला र कविता प्रति भने यस प्राँणीको प्रकृतिप्रदत्त लगाव थियो। स्कूलले मेरा चित्रलाई शुभकामना पत्रका रूपमा अन्यत्र पठाउँदथ्यो । १४–१५ वर्षकै उमेरमा यज्ञनिधि दाहालको मुखारबिन्दुबाट रेडियो मार्फत यस गँवारको कविता वाचन हुनु साच्चै नै उपल्लो उपलब्धि रहने गर्दथ्यो।

    कलेजमा नङ्ग–मासु मित्र अर्जुनप्रसाद श्रेष्ठ र गोपाल कलाप्रेमी मूर्तिकलाका लागि अब्बल विद्यार्थी थिए। गोपाल एक शैक्षिकसत्र मुन्तिर पर्थे । ईर्ष्या लाग्थ्यो, जतासुकैबाट पुरष्कारहरू कुम्ल्याउँदथिए। मूर्तिकलातर्फ भने यी दुबैको सङ्गतले पनि मलाई तान्न सकेको रहेन। म बरू सङ्गीतको विद्यार्थी रहें। स्वरतर्फ पूर्वीय शास्त्रीय सङ्गीतमा स्नातक गरें । तिनताका मैलेपनि केही उल्लेख्य प्रथम पुरस्कारहरू भने जितेको हो नै।

    जीवनमात्रकालागि सबैभन्दा उच्च साईनोमा आफ्नै आमा रहनु जैविक–सत्य हो । तथापि आमाले पनि सबैभन्दा उच्च साईनोमा माटोलाई राख्नु पर्दछ – यो भनेको श्रृष्टि–सत्य हो । वास्तवमा माटो सर्बोच्चको पनि सर्बोच्च हो, जब पृथ्वी, आकास, वायु, अग्नि र जलका बीचपनि हामी महत्ता पक्षिय तुलना गर्दछौं।

    यसो त म साख्खै किसानको छोरो। करेसा, बारी र खेत जे गर्दा पनि माटोसँग खेल्दै हुर्किएको मान्छे ! म आली र गरालाई खेलाउँदा खेलाउँदै असाध्यै लोभलाग्ने तुल्याँउँदथिएँ। गाउँभरी ईन्द्रको फूलबारीको नामले चिनिन्थ्यो मेरो फूलबारी। खण्डहरका रूपमा अहिले पनि भेट्न सकिन्छ। माटो। धरति माता।

    मैले समग्रमा नेपालको माटोलाई सौन्दर्यिकृत गर्न आफ्नो पुरै बाल्यजीवनलाई आहुत गरेको थिएँ। यो मृत्तिका–कला नै होईन र, जहाँ कुनै न कुनै प्रयोजनार्थ माटोलाई सौन्दर्यीकृत गरिन्छ ! मैले पक्कै आफ्नो शिल्पिले भ्याएसम्म माटोलाई सुन्दर रूप दिने प्रयोग त्यस अर्थमा गरें । बारी, बगैँचा, खेत, खोला, ओडार। यता भने अहँ, अहिले, अस्तिमात्र सम्म पनि मूर्ति नै बनाउँछु भनेर मैले कहिल्यै पहल लिईन। निर्णय र व्यवहार अपनाईन। धत्तेरिका !

    माटोमा वा माटोसँग खेल्नु वा माटोलाई माया गर्नु, तथ्यतः यहीँबाट अघि बढ्छ माटोको कला, मृत्तिका–कला । यो कमसेकम मैले पढेको छु। माटोको स्याहार–सुसार, सजावट, यसैबाट सादृष्यमा आउँछ कलात्मक अनुभूति!!

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend