काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकाले अब सम्वद्ध पक्षसँग छलफल गरी आयोजना अगाडि बढाइने स्पष्ट पारे ।
गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आइतबार प्रधामन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले आगामी बजेटमा आयोजनाका सम्बन्धमा स्पष्ट व्यवस्था गरेर नै अगाडि बढाइने बताए ।
आयोजनाका बारेमा गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणापत्रमासमेत स्पष्ट रुपमा लेखिएको, सत्ता गठबन्धनमा आवद्ध दलको समेत स्पष्ट दृष्टिकोण रहेकाले कुनै द्विविधा नराख्न प्रधानमन्त्रीले विश्वास दिलाउनुभएको गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
सरकारले आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिसकेको भए पनि काम भने प्रभावकारी हुनसकेको छैन । कूल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजनाको कामा लामो समयदेखि अगाडि बढ्न सकेको छैन ।
“प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी खुसी भएका छौँ, स्थानीयबासीको आशङ्कासमेत हटेको छ”, अध्यक्ष तिमिल्सिनाले भने “आयोजनाको बजेट रकमान्तर भएका विषयमा स्थानीयले गुनासो गरेका थिए ।” उनले प्रधानमन्त्रीले स्पष्ट कार्ययोजनाका साथ आयोजना अघि बढाउने प्रतिबद्धता जनाउनुभएको बताए ।
प्रधानमन्त्रीले सो अवसरमा आयोजना अगाडि बढाउन स्थापना गरिएको कम्पनीलाई समेत अब गति दिन र त्यसका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आवश्यक निर्देशन दिइने बताएका थिए ।
सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो । जसमा सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने गरी कम्पनी स्थापना गरेको थियो ।
कम्पनी स्थापनाको निर्णय गर्ने तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनाका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन् । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेकी भुसाल पनि प्रधानमन्त्रीसँगको भेटमा सहभागी थिइन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend