logo

२०८३ साउन १४ बिहिबार

अन्तर्राष्ट्रिय सुरक्षामा देखापरेका जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकताः प्रधानमन्त्री

अन्तर्राष्ट्रिय सुरक्षामा देखापरेका जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकताः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 975
    SHARES

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन् ।

    बुधबार भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम पूरा गरेका शिक्षार्थीलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

    नवआयुक्तहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातारवण एवं त्यसका प्रभावका पूर्वानुमानहरु र त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको सही आङ्कलन गरी जटिल चुनौतीबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता हो ।”

    नेपाली सेनाले हासिल गरेको राष्ट्र र जनताको विश्वास कार्यसम्पादनमा स्पष्ट झल्कने गरेको उनले चर्चा गरे । प्रधानमन्त्री दाहालले यस्तो सङ्गठनको आयुक्त भई राष्ट्र सेवा गर्ने अवसर प्राप्त हुनु आफैँमा एक गौरवपूर्ण उपलब्धि भएको भन्दै यस गर्वको क्षणलाई आफ्नो सैनिक सेवाको अन्तिम घडीसम्म कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन नवआयुक्त अधिकृतहरुलाई निर्देशनसमेत दिए ।

    नवआयुक्तहरुको काँधमा एक गहन राष्ट्रिय जिम्मेवारी थपिएको छ भन्दै प्रधानमन्त्रीले यो राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै, नेपाली सेनाको छविलाई थप उचाइमा पुर्याउने जिम्मेवारी पनि थपिएको बताए ।

    संसारभरि वीर गोर्खालीको देश भन्ने पहिचान पनि नेपाली सेनाकै बहादुरी र वीरताबाट हासिल भएको हो भन्दै उनले यस पहिचानलाई नेपाली सेनाले आधुनिक हातहतियार, प्रविधिमैत्री, तालिम, स्रोतसाधन र सम्पन्न उच्च हौसला युक्त उत्कृृष्ट सेनाका रुपमा स्थापित गरेको बताए ।

    नेपालको इतिहासमा नेपाली सेनाले पु¥याउँदै आएको अटुट योगदानलाई सदैव स्मरण गर्दै आगामी दिनमा पनि यसबाट प्ररेणा लिँदै नवआयुक्तहरुले सक्दो योगदान दिनेमा विश्वास उनले व्यक्त गरे । संवैधानिक सरकारको मातहत र निर्देशनमा व्यावसायिक एवं मर्यादित सङ्गठनका रुपमा स्थापित गर्न नेपाली सेनाले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको उनको भनाइ थियो ।

    प्रधानमन्त्री दाहालले सि.नं ६० अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने कृष्ण खड्का र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा उत्कृष्ट हुने खगेन्द्र कार्कीलाई खुकुरी प्रदान गरे । त्यस्तै, महिलातर्फ उत्कृष्ट हुने अप्सरा बुढाथोकीलाई छडी अवार्ड प्रदान गरे ।

    सि.नं ६० अधिकृत क्याडेट तालिममा ८६ र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिममा ३५ जनाले तीनवर्षे तालिम पूरा गरी आयुक्त पद प्राप्त गरेका छन् भने जाम्भियाका एकजनाले समेत अधिकृत क्याडेट तालिम पूरा गरेका छन् । कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरुलगायतको सहभागिता थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend