logo

२०८३ साउन १४ बिहिबार

निगमले आन्तरिक उडानका लागि तीन जहाज खरिद गर्ने

निगमले आन्तरिक उडानका लागि तीन जहाज खरिद गर्ने


हाम्रो राष्ट्र
  • सोमबार, ४ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो ।

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ ।

    यसबाट दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने उनको विश्वास छ । तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेकाले यसका लागि विशेष पहल गरी यथासक्य छिटो जहाज खरिद गरिने निगमले जनाएको छ ।

    उक्त प्रयोजनका निम्ति निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्य सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

    निगमले नयाँ तीन वटा जहाज खरिद गरेपश्चात नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुलाई सेवा प्रदान गर्न सकिने प्रवक्ता पौडेलले बताए। पर्यटन प्रवद्र्धन र सन्तुलित हवाइ बजारका लागि पनि निगमको उपस्थिति प्रभावकारी हुने जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend