logo

२०८३ असोज ७ बुधबार

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 1K
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन् ।

    उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ बुधबारदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुम उपत्यकालाई एक सय वर्षसम्म अहिंसा क्षेत्रका रुपमा स्थापित गरेर राख्नु आफैंंमा एउटा ऐतिहासिक कार्य भएको बताए ।

    “यो क्षेत्र आफैंंमा एउटा ऐतिहासिक क्षेत्र छ, चुम उपत्यकालाई अहिंसा क्षेत्रका रुपमा स्थापित गरेको सय वर्ष पूरा हुनु पनि आफैंंमा एउटा ठूलो इतिहास र गौरव हो”, प्रधानमन्त्री दाहालले भने, “तपाइँहरुले यो महोत्सवमार्फत सिङ्गै देश र दुनियाँलाई पनि शान्ति र अहिसांको सन्देश दिनुभएको छ ।” उनले चुम उपत्यकाको प्राकृतिक सौन्दर्यले गर्दा यस क्षेको पर्यटनसँगै आर्थिक र सामाजिक विकासको प्रशस्त सम्भावना रहेकोसमेत बताए ।

    प्रधानमन्त्री दाहालले चुमनुव्रीलगायत देशका विकट क्षेत्रहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा समग्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताए । “विकट क्षेत्रमा रहेका जनताले अझ धेरै दुःखकष्टको सामना गरिरहनुपरेको छ”, प्रधानमन्त्री दाहालले भने, “सरकार तपाइँहरुका साथमा छ, तत्काल सम्भव भए जति विकास निर्माण र आर्थिक क्रियाकलाप बढाउन पनि सरकार प्रतिबद्ध छ ।” उनले देशमा सङ्घीयता स्थापना भएसँगै विकट क्षेत्रका जनताको आवाज सिधै सिंहदरबारसम्म पुग्नसक्ने अवस्था सिर्जना भएको बताए ।

    “तपाइँको क्षेत्रको गाउँपालिकाका अध्यक्ष सिंहदरबारमा पुगेर पटक–पटक मसँग यहाँको विकास निर्माणका बारेमा मलाई झकझक्याई रहनुभएको छ”, प्रधानमन्त्री दाहालले भने, “त्यो आवाज तपाइँहरु सबै जनताको आवाज हो भन्ने मैले बुझेको छु, यहाँको दिगो पर्यटन पूर्वाधारका विकास लागि नीतिगत व्यवस्था गर्न सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

    उनले चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित रुइलानाका र वडा नं ७ छेकम्पारस्थित तिब्बतसँग सिमाना जोडिएको रुइला नाका खुलाउन आवश्यक पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । “रुइला नाका खुलाउने विषयमा धैरै पहिलेदेखि नै कुरा भइरहेको छ”, प्रधानमन्त्री दाहालले भने, “त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।”

    सोही अवसरमा प्रधानमन्त्री दाहाललाई चुमनुव्रीबासीले चुमनुव्री गाउँपालिकाका विभिन्न क्षेत्रलाई हवाई निषेधित क्षेत्र तोकेको भन्दै यसले गर्भवती तथा सुत्केरीहरु, बिरामी र प्राकृतिक विपत्तिमा परेका मानिसहरुको उद्धारमा कठिनाइ भएकाले निषेधित क्षेत्र खुलाउन माग गरेका छन् । त्यस्तै, सिर्दिबास–कम्पुल–लोक्पा–चुम्चेत–छेकम्पार मोटरबाटो निर्माणको योजना अघि बढाउन पनि प्रधानमन्त्री दाहालसँग स्थानीयवासीहरुले माग गरेका थिए ।

    प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोगसँग छलफल गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त मोटरबाटो निर्माणको योजना अघि बढाउने र हवाई उडान निषेधित क्षेत्रको सन्दर्भमा आवश्यक अध्ययन गरेर जनताका समस्याको उचित सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend