काठमाडौं । वैदेशिक रोजगारअन्तर्गत कतारको प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले १८ जनाको ६३ लाख ठगी गरेका छन् ।
उनीहरुबाट ६३ लाख ठगेर फरार भएका सप्तरीको कञ्चनपुर घर भई हाल काठमाडौँको टोखा बस्ने पूर्णकुमार दाहाललाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार दाहालले कतारको प्रहरीमा रोजगारी पाइने र त्यसका लागि सात लाख लाग्ने भन्दै रकम ठगेको पाइएको छ । दाहालले यसरी रकम ठगी गर्दा त्यहाँको प्रहरीमा जागिर भएपछि मासिक एक लाख कमाइ हुने लोभ देखाएका थिए ।
पीडितहरुको उजुरीपछि वैदेशिक रोजगार विभागबाट पक्राउ गरीदिन माग भएअनुसार खोजीका लागि खटिएको प्रहरीले उनलाई गएराति झापाबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि आजै वैदेशिक रोजगार विभाग काठमाडौँमा पठाइएको राठौरले जानकारी दिए ।
यस्तै कार्यालयले फेसबुकको दुरुपयोग गरी मानिसको चरित्रहत्या गर्ने दोलखाका शम्भुलाई पनि पक्राउ गरी थप कारबाहीका लागि ललितपुर प्रहरीलाई बुझाएको प्रहरी उपरीक्षक राठौरले बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend