काठमाडौं । काठमाडौँको टोखामा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गएराति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आगलागीबाट पाँच पसलमा रहेका सामान नष्ट भएका छन् । तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् ।
आगालागीबाट कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको डेरी जल्दा दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा दुई लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा २० लाख र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा २५ लाखको क्षति भएको रिजालले जानकारी दिए ।
यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको पसलको सटरसमेत जलेर नष्ट भएको छ । नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend