logo

२०८३ असोज ७ बुधबार

म्यान्मामा निर्वाचन अधिकृतको गोली हानी हत्या

म्यान्मामा निर्वाचन अधिकृतको गोली हानी हत्या


हाम्रो राष्ट्र
  • शनिबार, ९ बैशाख २०८०
  • 1K
    SHARES

    म्यान्माको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या गरेको सेनाले जनाएको छ । म्यान्मारको सेनाले दुई वर्षभन्दा बढी समयअघि सत्ता कब्जा गरेपछि यस कदमविरूद्ध असहमति व्यक्त गर्ने सर्वसाधारणमाथि समेत रक्तपातपूर्ण दमनको नेतृत्व गरेको छ । यो कदमले म्यान्मामा सामाजिक अशान्ति र आर्थिक सङ्कट निम्त्याएको छ ।

    स्वघोषित नागरिक ‘पिपुल्स डिफेन्स फोर्सेज’ जुन्टाको विरोधमा खडा भएका छन् र उनीहरूका लडाकुहरूले सेनासँग काम गर्ने अधिकारीहरूलाई निशाना बनाएका छन् ।सेनाको सञ्चार टोलीले जारी गरेको विज्ञप्तिमा केन्द्रीय निर्वाचन आयोगका उपनिर्देशक साई क्याव थुको पूर्वी याङ्गुनको थिङगायुन सहरमा गोली हानी हत्या गरिएको जनाइएको छ ।

    सेनाले आक्रमणमा ‘पिपुल्स डिफेन्स फोर्सेज’ जिम्मेवार रहेको बताएको छ तर थप विवरण भने दिएको छैन । सेनाले सन् २०२१ को फेब्रुअरीमा नागरिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अघिल्लो वर्षको चुनावमा धाँधली गरेको निराधार आरोप लगाउँदै अपदस्थ गरेको थियो ।

    वर्तमान जुन्टाको नेतृत्वमा रहेको सरकारले निर्वाचन आयोगलाई नयाँ निर्वाचन गर्ने जिम्मेवारी दिएको छ तर निर्वाचन आयोगका पदाधिकारी जुन्टा शासकप्रति वफादार रहेको दावी गर्दै विपक्षीहरूले स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने बताएका छन् । गत महिना आयोगले सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीलाई सेनाले तयार पारेको कडा चुनावी नियमअन्तर्गत पुनः दर्ता गर्न असफल भएको भन्दै विघटन गरेको थियो ।

    सन् १९९०, सन् २०१५ र सन् २०२० को चुनावमा सुकीको एनएलडीले यो समूहलाई पराजित गरेको थियो ।म्यान्मारमा सेनाले सत्ता कब्जा गरेदेखि नै उथलपुथल मच्चिएको छ । विरोधका कारण जातीय विद्रोहीहरूसँग नयाँ लडाईंहरू सुरु भएका छन् । अहिले सेनासँग सङ्घर्ष गर्ने दर्जनौं अन्य विपक्षी समूहहरू रहेका छन् ।

    देशभरि, लगभग हरेक दिन निम्न स्तरका जुन्टा अधिकारीहरू वा कथित मुखबिरहरूको हत्या भइरहेको छ । गत वर्ष अप्रिलमा म्यान्मारको केन्द्रीय बैङ्कका उपप्रशासकलाईसेनाले सत्ता कब्जा गरेको केही दिनपछि नियुक्त गरेको थियो र उनलाई याङ्गुनस्थित उनको घरमा अज्ञात आक्रमणकारीले गोली हानेका थिए । सन् २०२१ को नोभेम्बरमा सेना र भियतनामी कम्पनी भियतटेलको दूरसञ्चार कम्पनी माइटेलका एक उच्च अधिकारीको याङ्गुनस्थित घरबाहिर गोली हानी हत्या गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend