logo

२०८३ साउन १४ बिहिबार

अमृतपाल खालिस्तानी भारतमा पक्राउ

अमृतपाल खालिस्तानी भारतमा पक्राउ


हाम्रो राष्ट्र
  • आइतबार, १० बैशाख २०८०
  • 871
    SHARES

    काठमाडौं । फरार रहेको भनिएका ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले गिरफ्तार गरेको जनाएको छ । बीबीसीका अनुसार अमृतपाल सिंहको गिरफ्तारीको पुष्टि पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले गरेका हुन् । त्यसपछि पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ ।

    प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ । सिंहले सिखहरूका लागि स्वायत्त राज्यको माग गर्दै आएका थिए। १८ मार्चदेखि उनी फरार रहेका थिए सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् खोजी गरिदिन आफूहरूलाई पत्राचार गरेको यसअघि नेपालको अध्यागमन विभागका अधिकारीहरूले बताएका थिए ।

    २९ वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन् । सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए । गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किएका थिए ।

    अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे । उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन् । उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो । पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो ।

    पञ्जाब प्रहरीका अनुसार ’वारिस पञ्जाब दे’का कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ । उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पुर्याएको जस्ता अभियोग लगाइएको छ ।

    पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको थियो । उनी पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन् । सिंहका समर्थकहरूले गत फेब्रुअरीमा हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो ।

    अनियन्त्रित भिडमा रहेका क्रुद्ध मानिसहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए। आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्र त्यहाँबाट बाहिरिएका थिए । प्रहरी अधिकारीहरूले पछि दाबी गरेअनुसार उनीहरूले सिखहरूको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’लाई ढालका रूपमा प्रयोग गरेका कारण भिड नियन्त्रण गर्न कठिन भएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend