logo

२०८३ असोज ७ बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी पदमुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी पदमुक्त


हाम्रो राष्ट्र
  • सोमबार, ११ बैशाख २०८०
  • 1K
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार ढलेको छ । सोमबार मुख्यमन्त्री गिरीले प्रदेश सभाबाट विश्वासको मत गुमाएसँगै सरकार ढलेको हो। यसअघि शनिवार गण्डकीमा एमाले सरकार ढलेको थियो ।

    गिरीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मतको प्रस्ताव राखेका थिए। गिरीले राखेको विश्वासको मतको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको सभामुख तुलाराम घर्ती मगरले घोषण गरे । गिरीले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो ।

    आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरी नेतृत्वको सरकार ढलेको हो । गिरीको पक्षमा उनकै पार्टी एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका थिए ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्री समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए । पुस २७ गते लुम्बिनीको माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीले फागुन ५ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

    केन्द्रमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि लुम्बिनी प्रदेशमा पनि त्यसको असर परेको हो । गत चैत १२ गते गिरी नेतृत्वको लुम्बिनी सरकारलाई साथ दिएका माओवादी केन्द्र सहित ६ दलले समर्थन फिर्ता लिएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend