आर्थिक सङ्कट सामना गरिरहेको पाकिस्तानले संयुक्त राज्य अमेरिकालाई सैन्य वित्तपोषण र बिक्री पुनर्स्थापना गर्न आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस किसिमको वित्त पोषण कार्यक्रम स्थगित गरेको थियो ।
अमेरिकाका लागि पाकिस्तानका राजदूत मसूद खानले वाशिङ्गटनमा आयोजित सेमिनारलाई सम्बोधन गर्दै अमेरिकाले पाकिस्तानको लागि यस अघि अघिल्लो प्रशासनले निलम्बन गरेको विदेशी सैन्य वित्तिय पोषण र विदेशी सैन्य सामग्री बिक्री पुनर्स्थापित गर्नु महत्वपूर्ण रहेको बताएका छन् ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएयता अमेरिका–पाकिस्तान सम्बन्ध लामो समयदेखि अनिश्चिततामा फसेको छ । अहिले अमेरिका र चीनबीचको द्वन्द्वका कारण पाकिस्तानको अमेरिकासँगको सम्बन्ध चिसिएको छ । दक्षिण र मध्य एसियाका लागि अमेरिकी प्रमुख उप–सहायक विदेशमन्त्री एलिजाबेथ होर्स्टले सङ्कटग्रस्त पाकिस्तानी अर्थतन्त्रको पुनर्निर्माणमा मद्दत गर्ने आवश्यकतामा ध्यान केन्द्रित गर्दै इस्लामाबादलाई अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग काम गर्न आग्रह गरेको पाकिस्तानी पत्रिका द डनले उल्लेख गरेको छ ।
पाकिस्तान र आईएमएफले सहमति जनाएका सुधारहरू सजिलो नभएको तर पाकिस्तानले देशलाई आर्थिक सबलताको स्थितिमा फर्काउनका लागि यी कदमहरू चाल्नु आवश्यक रहेको एलिजाबेथ होर्स्टको बुझाइरहेको छ । यसैबीच वाशिङ्टनले इस्लामाबादलाई आईएमएफसँग सहमति अनुरूपको ‘कडा सुधार’ कार्यक्रम लागू गर्न आग्रह गरेको छ ।
भर्खरै उच्चस्तरीय कूटनीतिक संलग्नता र बाक्लिदै गएको वार्ता अमेरिकासँगको तनावपूर्ण सम्बन्ध सुधार्ने सन्दर्भमा पाकिस्तानका निम्ति सकारात्मक हुनसक्ने टिप्पणी गरिएको छ । विल्सन सेन्टर वाशिङ्गटनमा आयोजित सम्मेलन थुप्रै चुनौतीपूर्ण घटनाक्रमहरूको पृष्ठभूमिमा अमेरिका–पाकिस्तान सम्बन्धलाई कसरी सुधार्न सकिन्छ भन्नेमा केन्द्रित थियो।
एक प्रश्नको जवाफ दिँदै राजदूत खानले पाकिस्तानले रुसी तेलको लागि पहिलो आग्रह गरेको र अमेरिकी सरकारसँग परामर्श गरेर त्यसो गरेको पनि बताए । सो अवसरमा अफगानिस्तानमा स्थायित्व ल्याउन पाकिस्तानले खेल्ने भूमिकाबारे पनि छलफल भएको थियो।
अफगानिस्तानमा भएको आतङ्कवादको बृद्धिप्रति अमेरिका र चीन दुवै चिन्तित रहेको उल्लेख गर्दै उनले यस खतरालाई उन्मूलन गर्न मिलेर काम गर्नुपर्ने बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend