संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
मङ्गलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको अभियोगमा धार्मिक प्रहरी हिरासतमा लिइएपछि भएको उनको मृत्युको खबर सम्प्रेषण गर्ने निलोफर हमेदी महसाको अन्त्येष्टिको समाचार लेख्ने इलाहे मोहम्मदी हुन् । अमिनीको मृत्युपछि इरानका दर्जनौँ शहरमा महिनौँसम्म विरोध प्रदर्शन भएका थिए ।
तेस्रो विजेता नरगेस मोहम्मदी हुन् । इरानमा लामो समयदेखि काम गरेकी उनी प्रेस स्वतन्त्रता र मानवअधिकारकार रक्षाका खातिर वर्षौँदेखि अग्रमोर्चामा रहेर काम गरेकी अग्रणी पत्रकार हुन् । पुरस्कृत पत्रकारहरू कारागारमा छन् । उनीहरूलाई अमेरिकासँग मिलेर काम गरेको तथा इरानको राष्ट्रिय सुरक्षा प्रतिकूल गतिविधि गरेको अभियोग लगाइएको छ ।
युनेस्कोका महानिर्देशक अड्रे अजौलेले आक्रमण, धम्की र असुरक्षाका बीच पेशाप्रति प्रतिबद्ध भएर लागेका महिला पत्रकारहरू पुरस्कृत भएका बताउँदै उनीहरूलाई इरान सरकारले कारगारमुक्त नगरेसम्म विश्वभरका पत्रकार एवम् स्वतन्त्रतापक्षधरहरूले उनीहरूका पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को) विश्व प्रेस स्वतन्त्रता पुरस्कार सन् १९८६ को डिसेम्बर १७ मा हत्या गरिएका कोलम्बियाली पत्रकार गुईलेर्मो कानोको नाममा स्थापना गरिएको हो । पत्रकार गुइलेर्मो आफ्नो पत्रिका एल एस्पेक्टाडोरको कार्यालय अगाडि मारिएका थिए । सन् १९८७ देखि हरेक वर्ष मे ३ मा विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइने गरेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend