logo

२०८३ साउन १३ बुधबार

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस कठोर बन्न तयार छः सांसद पाण्डे

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस कठोर बन्न तयार छः सांसद पाण्डे


हाम्रो राष्ट्र
  • बुधबार, २० बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि कांग्रेस कठोर बन्न तयार रहेको बताएका छन् ।

    विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा बुधबार मनोहरा जेसीजले आयोजना गरेको अन्तरक्रियामा सहमहामन्त्री पाण्डेले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्न विभिन्न हतकण्डा भइरहेको भन्दै कांग्रेसले त्यसको कडा प्रतिवाद गर्ने बताए ।

    “आजको राजनीतिक उपलब्धी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताकै कारण सम्भव भएको हो । यसको रक्षाका लागि कांग्रेसले आफूलाई कठोर बनाउँछ । स्वतन्त्रताविरुद्ध उभिनेहरुको कांग्रेसले कडा प्रतिवाद गर्छ”, उनले भने । पाण्डेले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन् हुने कानून बन्न नदिन कांग्रेसले सरकार, सदन र सडकबाट समेत खबरदारी गर्ने बताए ।

    अन्तरक्रियामा कांग्रेस युवा नेता एवं सांसद राजेन्द्र बजगाईले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध थालिएका प्रयत्नको प्रतिवाद गर्न नेपाली प्रेस जगत सक्षम रहेको बताए । “नेपालको सञ्चार क्षेत्र त्यति कमजोर छ भन्ने लाग्दैन । अभिव्यक्ति स्वतन्त्रताविरुद्ध उभिनेलाई नेपाली सञ्चार क्षेत्रले नै निस्तेज पार्नेछ । त्यसमा सांसदको रुपमा हाम्रो साथ रहनेछ”, बजगाईले भने । उनले संसदबाट लोकतान्त्रिक अधिकारविरुद्ध कानून बन्न नदिन आफूहरु सचेत रहेको भन्दै लोकतन्त्रको प्राण नै अभिव्यक्ति स्वतन्त्रता रहेको बताए ।

    कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले तीन तहको निर्वाचन सम्पन्न भएलगत्तै लोकतान्त्रिक अधिकार सुदृढ हुनुपर्नेमा उल्टै अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा बढेको बताए । “जनमतका नाममा, लोकरिझ्याइँका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नयाँ ढंगले प्रहार हुन थालेको छ । नेपाली प्रेस जगतले एकतावद्ध ढंगले यसको प्रतिवाद गर्नुपर्छ”, अर्यालले भने । उनले अभिव्यक्ति स्वतन्त्रता मिडियाको मात्रै नभई नागरिकको अधिकार भएको चेतना सबै नागरिकका पुर्याउनु अपरिहार्य भएको बताए ।

    लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीले अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढ्नु दुःखद रहेको बताए । राजनीतिक दल र तिनका कार्यकर्ताबाट प्रेस जगत असुरक्षित हुने क्रम बढेको भन्दै उनले संसदमा शक्ति आर्जन गरेका दलहरु जिम्मेवार बन्नुपर्ने बताए ।

    कार्यक्रममा नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष रजनी थापा, उपाध्यक्ष अनुप सुनुवार र मनोहरा जेसीजका अध्यक्ष सुजिनप्रकाश थापा लगायतले अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यताबारे युवाहरुलाई सचेत गराउन जरुरी रहेकोमा जोड दिएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend