राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा विवादास्पद कोहिनूर हीरा प्रयोग नहुने बकिङ्घम प्यालेसले जनाएको छ । क्वीन कन्सोर्टका रूपमा कमिलालाई क्वीन मेरीको मुकुट पहिराइनेछ र त्यसका लागि मे महिनाको छ तारिखमा हुने समारोहका लागि टावर अफ लन्डनबाट मुकुट निकालिएको छ ।
राज्याभिषेकका लागि विद्यमान मुकुटलाई पुनः प्रयोगमा ल्याइएको हालैको इतिहासमा यो पहिलो पटक भएको ठानिएको छ । महारानी एलिजाबेथ द्वितीयाको गहना सङ्ग्रहबाट पनि हीराहरू जडित गरिनेछ । वेस्टमिन्स्टर एबीमा हुने राज्याभिषेक समारोहमा कमिलालाई राजा चार्ल्ससँगै मुकुट पहिराइनेछ ।
कोहिनूर हीराको स्वामित्वबारे विवाद छ। यसको प्रयोगबारे खासगरी भारतसँग कूटनीतिक विवादहरू रहेका छन् उक्त हीराको असली स्वामित्व आफ्नो भएको दाबी भारतले थुप्रै पटक गरिसकेको छ। उक्त हीराको प्रयोग महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक समारोहमा प्रयोग भएको थियो ।
बकिङ्घम राजदरबारले कमिलालाई क्वीन मेरीको मुकुट पहिराइने र पुनः प्रयोग ‘स्थायित्व र दक्षताको हितमा’ भएको दाबी गरेको छ । दिवङ्गत महारानी एलिजावेथ द्वितीयाको सम्मानमा उनको व्यक्तिगत गहनाहरूको सङ्कलनबाट कलिनन तेस्रो, चौथो र पाँचौँ भनेर चिनिने हीराहरू पनि प्रयोग गरेर कमिलाले लगाउने मुकुट तयार गरिनेछ ।
ती हीराहरू दिवङ्गत महारानीले कपालमा लगाउने क्लिप (ब्रुच) मा प्रयोग हुन्थ्यो जुन दक्षिण अफ्रिकामा पत्ता लागेका कलिनन हीराहरूबाट झिकिएको थियो । राजा चार्ल्स तृतीयले भने सेन्ट एडवर्डको मुकुट पहिरिनेछन्। उक्त मुकुट राजालाई ठिक हुनेगरी बनाइएपछि अहिले टावर अफ लन्डनमा प्रदर्शनका लागि राखिएको छ ।
उक्त मुकुट त्यसभन्दा अघिको मुकुट विस्थापनका लागि सन् १६६१ मा राजा चार्ल्स द्वितीयलाई बनाइएको थियो। अङ्ग्रेज गृहयुद्धपछि उक्त मुकुट नष्ट गरिएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend