logo

२०८३ साउन १५ शुक्रबार

बेलायती राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट

बेलायती राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट


हाम्रो राष्ट्र
  • शनिबार, २३ बैशाख २०८०
  • 1K
    SHARES

    चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन्। आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा राखिदिएका हुन् ।

    जीवनमा यही एक पटक उनले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिने छन् । यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक हुन् । वेस्टमिन्स्टर एबीमा विम्वहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोह जारी छ। त्यहाँ यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए ।

    पत्नी क्वीन कन्सोर्ट कमिलाका साथ उनी बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कंदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो । राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए ।

    राज्याभिषेक समारोह वेस्टमिन्स्टर एबीमा जारी छ जुन करिब २ घण्टा चल्नेछ । समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू छन् र बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुन् ।

    यसअघि रेलमार्फत् लन्डनको वाटरलु स्टेसन पुगेका सशस्त्र सैन्य बलका हजारौँ सदस्य शनिबारको समारोहमा सहभागी हुन बकिङ्घम दरबारतर्फ गएका थिए । समारोहको बीचबीचमा राजाले नै रोजेका सङ्गीत बजेका छन्। त्यसमा १२ वटा नवनिर्मित धुन छन् । वेस्टमिन्स्टर एबीमा भव्य शाही समारोहको आयोजना गरिएको छ संसारभरबाट अतिथिहरू सहभागी छन् ।

    संसारभरिबाट विश्व नेता र राजपरिवारका सदस्यहरूसहित २ हजारभन्दा धेरैलाई समारोहका लागि निम्त्याइएको छ। मनोरञ्जन जगत्का व्यक्तिहरू समेत अतिथिका रूपमा सहभागी छन्।

    बेलायतका प्रधानमन्त्री ऋषि सुनक र देशका सातजना पूर्व प्रधानमन्त्रीहरू समारोहमा सहभागी छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शनिबारको दिन अभूतपूर्व राष्ट्रिय गौरवको क्षण भएको र हाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शन भएको बताएका छन्।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend