काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टुकुचा खोलालाई प्राकृतिक रुपमा खुला कायम गर्न उच्च अदालतले मान्यता दिएको बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत मेयर साहले टुकुचा ढल नभई, टुकुचा खोला नै हो भन्ने कुरा अदालतको फैसलाले पुनः प्रमाणित गरेको बताएका हुन् । उनले भनेका छन्, ‘केहीदिन अघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको छ । टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ । नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ । सो फैसलाले टुकुचा खोला अर्थात् इच्छुमति नदीको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ । कुनै पनि नदी वा खोलाको वहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड छ ।’
त्यस्तै उनले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको पनि बताएका छन् । उनले भने,‘ तसर्थ, अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वाेत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ । यस फैसलाबाट पनि यो पुष्टि हुन्छ कि, टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्ने सम्बन्धमा काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको छ । खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीति अनुरूप हामीले चालेका कुनै पनि कदम खेर गएका छैनन् ।’
महानगरले डोजर लगाएर टुकुचा खोला उत्खनन् गर्न थालेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिले उच्च अदालतमा रिट दायर गरेको थियो । त्यतिबेला अदालतले टुकुचा खोलामाथि बनेका घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend