ललितपुर, श्रीलङ्काको विशिष्ट स्वाद र मौलिक परिकारहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ललितपुरको विभान्ता होटलमा “फ्लेवर्स अफ श्रीलङ्का” (Flavours of Sri Lanka) खाना महोत्सवको औपचारिक उद्घाटन गरिएको छ। विभान्ता होटल स्थित मिन्ट (MYNT) रेस्टुरेन्टमा आयोजित एक विशेष समारोहका बीच नेपालका लागि श्रीलङ्काकी राजदूत महामहिम रुवान्ती देल्पितियाले रिबन काटेर महोत्सवको शुभारम्भ गर्नुभयो। अप्रिल १२ देखि १८ सम्म चल्ने यो महोत्सवले नेपाल र श्रीलङ्काबीचको सांस्कृतिक सम्बन्धलाई खानाका माध्यमबाट अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।
उद्घाटन समारोहमा विभिन्न देशका कूटनीतिज्ञहरू, चेम्बर अफ कमर्सका नेतृत्वकर्ताहरू तथा प्रतिष्ठित व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहमा राजदूत देल्पितियाले श्रीलङ्कन परम्परा अनुसार पानसमा दीप प्रज्वलन समेत गर्नुभएको थियो। सो अवसरमा बोल्दै उहाँले यो महोत्सव केवल खानाको प्रदर्शनी मात्र नभई दुई देशबीचको जनस्तरको सम्बन्ध र पर्यटन प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण माध्यम भएको बताउनुभयो।
महोत्सवमा श्रीलङ्काको प्रख्यात सिलोन स्पाइसेज (Ceylon Spices), नरिवल र ताजा समुद्री खाना (Seafood) बाट बनेका मौलिक परिकारहरू मुख्य आकर्षणका रूपमा रहेका छन्। आगन्तुकहरूले श्रीलङ्काको लोकप्रिय कोट्टु रोटी, हपर्स (Appam), राइस एण्ड करीका साथै परम्परागत मिठाईहरू जस्तै वातलाप्पम, काभुम र कोकिसको स्वाद लिन पाउनेछन्। विभान्ता होटलका अनुसार यो हप्ताभरि चल्ने महोत्सवमा श्रीलङ्काको वास्तविक स्वाद पस्कन विशेष तयारी गरिएको छ, जसले खाद्य पारखीहरूलाई एउटा छुट्टै र अविस्मरणीय अनुभव प्रदान गर्नेछ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend