काठमाडौँ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिको आयोजनामा स्मारिका विमोचन तथा विजया दशमी र शुभ दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
समितिकी अध्यक्ष वीणा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति युरिका ताम्राकार प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा वक्ताहरूले डिल्लीरमण रेग्मीको योगदान, पुस्तकालयको महत्व तथा स्मारिकामा समेटिएका लेखरचनाबारे चर्चा गर्नुभएको थियो। विभिन्न पुस्तकालयका प्रमुख तथा विषयगत अनुसन्धानकर्ताहरूले पठन संस्कृतिको विकास, पुस्तकालयको भूमिका र ज्ञानको संरक्षणका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रममा प्रा. डा. प्रेम खत्री, प्रा. डा. मोहन लोहनी, प्रा. डा. रामप्रसाद दाहाल, प्रा. डा. सुमन ढुङ्गेल, प्रा. डा. श्रीराम उपाध्यायलगायत विभिन्न क्षेत्रका विद्वान् तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको थियो।
पुस्तकालयको महत्वमाथि प्रकाश पार्दै वक्ताहरूले ऐतिहासिक पुस्तक, पाण्डुलिपि तथा तस्बिरहरूको संरक्षण, विद्यार्थी र अनुसन्धानकर्ताका लागि अध्ययन तथा अनुसन्धानको सुविधा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो। पुस्तकालय केवल पुस्तक राख्ने स्थान मात्र नभई नेपालको आधुनिक इतिहास, ज्ञान र बौद्धिक सम्पदाको संरक्षण गर्ने महत्वपूर्ण केन्द्र भएको धारणा पनि व्यक्त गरिएको थियो।
डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालयले ऐतिहासिक सामग्रीको संरक्षणसँगै पठन संस्कृतिको प्रवर्द्धन, पुस्तकालय दिवस, गोष्ठी तथा पुस्तक विमोचनजस्ता कार्यक्रममार्फत ज्ञान र अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउँदै आएको छ।
कार्यक्रमको अन्त्यमा नजिकिँदै गरेका विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सहभागीहरूबीच शुभकामना आदानप्रदान गरिएको थियो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend