नेपाली विद्यार्थीहरूका लागि बेलायती उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले अक्सफोर्ड इन्टरनेशनल एजुकेसन ग्रुप (OIEG) को उच्चस्तरीय प्रतिनिधिमण्डलले आज काठमाडौँको पुतलीसडकस्थित एडुपार्क यूके (Edupark UK) को कार्यालय भ्रमण गरी रणनीतिक छलफल सम्पन्न गरेको छ।
भ्रमण दलमा OIEG का स्टुडेन्ट रिक्रुटमेन्ट डाइरेक्टर वारेन क्वान (Warren Kwan), नेपाल, श्रीलंका र बंगलादेशका क्षेत्रीय निर्देशक अब्दुल रहमान (Abdul Rehman), अक्सफोर्ड डाइरेक्टकी क्षेत्रीय प्रबन्धक रोजिना थापा र यूके पाथवेजकी क्षेत्रीय प्रबन्धक डायना तामाङ सहभागी थिए। प्रतिनिधिमण्डललाई एडुपार्क यूकेका संस्थापक एवं प्रबन्ध निर्देशक सन्दीप मिश्र तथा परामर्शदाता टोलीले स्वागत गरेका थिए।

छलफलका क्रममा बेलायती विश्वविद्यालयहरूको पछिल्लो भर्ना मापदण्ड, छात्रवृत्ति योजना र सहज शैक्षिक मार्गहरूका विषयमा स्थानीय परामर्श अभ्यासलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो। OIEG का प्रतिनिधिहरूले एडुपार्क यूकेका काउन्सेलरहरूसँग भर्ना योग्यता, कन्फर्मेसन अफ एक्सेप्टेन्स फर स्टडिज (CAS) प्रक्रिया र बेलायतमा अध्ययनपछिको करियर सम्भावनाबारे प्रत्यक्ष अन्तरक्रिया गरे। दुवै संस्थाले विद्यार्थी र अभिभावकलाई सही निर्णय लिन मद्दत पुर्याउन पारदर्शी र नैतिक शैक्षिक परामर्श (Ethical Recruitment) अपरिहार्य रहेको बताएका छन्।
“विश्वस्तरीय उच्च शिक्षामा विद्यार्थी-केन्द्रित र सहज पहुँच निर्माण गर्नु हाम्रो मुख्य लक्ष्य हो। प्रत्यक्ष विश्वविद्यालय भर्ना र व्यवस्थित शैक्षिक तयारीलाई संयोजन गरेर हामी विविध शैक्षिक पृष्ठभूमिका विद्यार्थीहरूलाई प्रतिष्ठित बेलायती शैक्षिक संस्थाहरूमा गुणस्तरीय र नियमसंगत प्रवेश सुनिश्चित गर्छौँ।”
यस्तै, क्षेत्रीय निर्देशक अब्दुल रहमानले बेलायती विश्वविद्यालयहरूमा दक्षिण एसियाली विद्यार्थीहरूको बढ्दो उपस्थिति र शैक्षिक सफलताको प्रशंसा गर्दै एडुपार्क यूकेजस्ता स्थापित परामर्शदात्री संस्थाहरूसँगको सहकार्यले भर्ना प्रक्रियामा पारदर्शिता र उच्च मापदण्ड कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा OIEG का क्षेत्रीय प्रबन्धकहरूले नेपाली विद्यार्थीहरूका लागि उपलब्ध दुई मुख्य भर्ना माध्यमबारे प्रकाश पारेका थिए:
अक्सफोर्ड डाइरेक्ट (Oxford Direct): क्षेत्रीय प्रबन्धक रोजिना थापाले स्नातक र स्नातकोत्तर तहका लागि आवश्यक शैक्षिक तथा अंग्रेजी भाषाको योग्यता पूरा गरिसकेका विद्यार्थीहरूका लागि छिटो अफर लेटर प्राप्त हुने, व्यक्तिगत आवेदन सहजीकरण गरिने तथा बेलायतका प्रमुख सहरहरूमा करियर-केन्द्रित डिग्री अध्ययन गर्न सकिने सुविधाबारे जानकारी दिइन्।

यूके पाथवेज (UK Pathways): क्षेत्रीय प्रबन्धक डायना तामाङले OIEG का इन्टरनेशनल फाउन्डेसन, इन्टरनेशनल इयर वान र प्रि-मास्टर्स कार्यक्रमहरूबारे चर्चा गर्दै यी पाठ्यक्रमहरूले विद्यार्थीको विषयगत आधार र शैक्षिक अंग्रेजी सीप मजबुत बनाउने बताइन्। उनका अनुसार प्रायः एउटै एकीकृत CAS (Single Integrated CAS) अन्तर्गत विद्यार्थीहरू आफ्नो रोजाइको मुख्य डिग्रीमा सहजै प्रवेश गर्न सक्छन्।

एडुपार्क यूकेका संस्थापक एवं प्रबन्ध निर्देशक सन्दीप मिश्रले पुतलीसडकस्थित कार्यालयमा आएर महत्वपूर्ण संस्थागत जानकारी साझा गरेकोमा OIEG नेतृत्व टोलीप्रति आभार व्यक्त गरे। उनले विश्वविद्यालय समूहको नेतृत्वसँगको प्रत्यक्ष संवादले विद्यार्थी र अभिभावकलाई भर्ना तथा भिसा प्रक्रियाभर अद्यावधिक र भरपर्दो मार्गदर्शन प्रदान गर्न परामर्शदाताहरूको क्षमता अझ सुदृढ हुने बताए।
अक्सफोर्ड इन्टरनेशनल एजुकेसन ग्रुप (OIEG): सन् १९९१ मा स्थापित OIEG बेलायत, उत्तर अमेरिका, युरोप र अष्ट्रेलियामा शैक्षिक सेवा प्रदान गर्ने एक प्रतिष्ठित विश्वव्यापी शैक्षिक संस्था हो। बेलायतमा यसले बङ्गर युनिभर्सिटी, डि मोन्टफोर्ट युनिभर्सिटी, युनिभर्सिटी अफ डन्डी, युनिभर्सिटी अफ ब्राडफोर्ड र युनिभर्सिटी अफ ग्रिनविचमा अन-क्याम्पस पाथवे कलेजहरू सञ्चालन गरिरहेको छ। साथै, अक्सफोर्ड र लण्डनस्थित पाथवे कलेजहरूमार्फत १५ भन्दा बढी बेलायती विश्वविद्यालयहरूमा अध्ययनको बाटो खुला गरेको छ। अक्सफोर्ड डाइरेक्ट र अक्सफोर्ड ELLT मार्फत यसले एडिनबर्ग नेपियर, बीपीपी, रोह्याम्प्टन, अल्स्टर लगायतका विश्वविद्यालयमा प्रत्यक्ष भर्नाको सहजीकरण गर्दछ।
एडुपार्क यूके (Edupark UK): काठमाडौँको पुतलीसडकमा अवस्थित एडुपार्क यूकेले नेपाली विद्यार्थीहरूलाई बेलायती विश्वविद्यालयहरूमा स्नातक, स्नातकोत्तर तथा पाथवे कार्यक्रमका साथै CAS र विद्यार्थी भिसा प्रक्रियामा विशेषज्ञ परामर्श प्रदान गर्दै आएको छ। सन् २००९ देखि वैदेशिक अध्ययन परामर्श क्षेत्रमा सक्रिय ‘एडुपार्क ग्रुप’ अन्तर्गत रहेर यसले सेवा दिइरहेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend