logo

२०८३ मंसिर ८ सोमबार

बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सुरु

बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता सुरु


हाम्रो राष्ट्र
  • आइतबार, ७ मंसिर २०८३
  • 884
    SHARES

    ललितपुर, मंसिर ६। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ।

    नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौँडा, मकवानपुरको आयोजनामा छनोट स्पर्धा सुरु भएको हो।

    ललितपुरस्थित नखु दोबाटोमा रहेको जु जु सवा: नेवारी रेस्टुरेन्टको आँगनमा सञ्चालन भइरहेको प्रदेशस्तरीय छनोट प्रतियोगिताको क्लासिकल विधामा नौ जिल्लाका ३५ पुरुष तथा छ जिल्लाका २० महिला खेलाडी सहभागी छन्।

    बागमती प्रदेश खेलकुद विकास परिषद्ले ३२ खेलमध्ये २९ खेलको छनोट सम्पन्न गरिसकेको छ। बाँकी तीन खेल—उसु, बुद्धिचाल र एथलेटिक्स—को छनोट प्रक्रिया जारी रहेको छ।

    बुद्धिचाल छनोट प्रतियोगिताका प्राविधिक संयोजक राजु ताम्राकार तथा सदस्य ज्ञानेन्द्र खाइजु र मनोज घिमिरेको टोलीले क्लासिकल (४५ मिनेट तथा ३० सेकेन्ड इन्क्रिजमेन्ट), र्‍यापिड (१० मिनेट तथा ५ सेकेन्ड इन्क्रिजमेन्ट) र ब्लिट्ज (३ मिनेट तथा २ सेकेन्ड इन्क्रिजमेन्ट) विधामा प्रतिस्पर्धा गराई १२ खेलाडी छनोट गर्नेछ।

    पहिलो चरणको खेल सम्पन्न हुँदा शीर्ष खेलाडीहरूले जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेका छन्। चितवनका राजु त्रिपाठी, ललितपुरका सुरज महर्जन र कमल श्रेष्ठ, चितवनका सत्यम शर्मा तथा काठमाडौंका प्रतीक सुवेदीले जितसँगै दुई अङ्क जोड्न सफल भएका छन्।

    त्यस्तै, काठमाडौंका सीएम नवीन तण्डुकार, ललितपुरका रत्न व्यञ्जनकार, दोलखाका राजिव कार्की, ललितपुरका अशोक मोहन श्रेष्ठ, मकवानपुरका सुन्दर कार्की, भक्तपुरका पुरुषोत्तम दुवाल र काठमाडौंका आशानारायण लवटले पनि समान दुई अङ्क बनाएका छन्।

    पहिलो चरणमा जित हासिल गर्ने अन्य खेलाडीमा ललितपुरका सानुभाइ महर्जन, दोलखाका कविन्द्र शिवाकोटी र काभ्रेका श्याम मानन्धर रहेका छन्।

    क्लासिकल विधामा कुल सात चरणका खेल हुनेछन्। दोस्रो चरणमा सुरज महर्जन र सुन्दर कार्की, अशोक मोहन श्रेष्ठ र कमल श्रेष्ठ, सत्यम शर्मा र पुरुषोत्तम दुवाल तथा आशानारायण लवट र प्रतीक सुवेदीबीच प्रतिस्पर्धा भइरहेको छ।

    त्यस्तै, कविन्द्र शिवाकोटी र शैलेन्द्र न्यौपाने, सीएम नवीन तण्डुकार र सानुभाइ महर्जन, रत्न व्यञ्जनकार र श्याम मानन्धर तथा राजु त्रिपाठी र राजिव कार्कीबीच पनि प्रतिस्पर्धा जारी छ।

    महिला विधातर्फ ओजस्वी श्रेष्ठ, लक्ष्मी कँडेल, ग्लोसी श्रेष्ठ, शुभेच्छा घिमिरे, राधिका केसी, राजश्री कुसी, नेलिसा ओझा, मानस्विनी शर्मा र शुभश्री श्रेष्ठले समान एक अङ्क जोडेका छन्। यसस्वी महर्जन र श्रीयश्री तुलाधर भने शून्य दशमलव पाँच अङ्कका साथ दोस्रो स्थानमा रहेका छन्।

    प्रतियोगिताको उद्घाटन नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन र पूर्वअध्यक्ष विदुरप्रसाद गौतमले गरेका थिए। कार्यक्रममा विश्व बुद्धिचाल महासङ्घको रुल्स कमिसनका पार्षद् उमेश केसीको उपस्थिति रहेको थियो।

    गत भदौ १० गते भोटेकोशी बाढीमा आफ्ना परिवारजन गुमाएका नुवाकोट जिल्ला बुद्धिचाल सङ्घका पूर्वअध्यक्ष प्रकाश जोशीको उपस्थितिमा दोस्रो चरणको खेल शुभारम्भ गरिएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend