तालिबानको शासनकालमा अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दरका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका छन् । त्यहाँका नागरिकले आफ्नो परिवारको पेट पाल्नका लागि गैरकानुनी रूपमा रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएको बताएका छन् ।
सन् २०२१ को अगष्टमा तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएपछि देशमा मानवीय सङ्कट धेरै गुणा बढेको छ । तालिवानको कडा प्रतिबन्धका कारण मानिसहरू बाँच्नका लागि देश छोडेर विदेशिनु परेको हो ।
हेरातका बासिन्दा अब्दुल खालिकले देशको दयनीय अवस्था र आर्थिक मन्दीप्रति दुःख व्यक्त गर्दै भने, “मलाई अफगानी सौर्य वर्ष १३९१ देखि अहिलेसम्म १६ पटक निर्वासित गरिएको छ । हामी कमजोर छौं र समस्यासँग जुधिरहेका छौं र हामीलाई बाहिर जान बाध्य पारिएको छ ।”
टोलोन्यूजका अनुसार बाघलाननिवासी नादिर आफ्नो पाँच जनाको परिवारका साथ अवैध रूपमा सीमा पार गरेर इरान जान खोजिरहेका छन् ।
नादिरले भने, “यदि अफगानिस्तानमा रोटीको टुक्रा पाउन सकिन्थ्यो भने हामी किन अन्य देशमा जान्थ्यौं, हामी किन आफूलाई विस्थापित गरेर यो कठिन र खतरनाक बाटोमा जान्छौं?”
नादिरका छोरा ताहिरले भने, “मेरी आमा अपाङ्ग भइसक्नुभएको छ र मैले उहाँको उपचारको लागि केही पैसा कमाउन विद्यालय जान छोडेको छु ।”
तालिवानका शरणार्थी तथा स्वदेश फिर्ती मन्त्री खलील रहमान हक्कानीले मानव तस्करले अफगान गरिब जनतालाई देश छोड्न उक्साउने गरेको दाबी गरेका छन् ।
तालिवान नेतृत्वको सरकारले अफगानिस्तानमा सत्ता आफ्नो नियन्त्रणमा लिएपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्गठनहरूले यस समूहको दमनको नीतिको आलोचना गर्दै आएका छन् ।
यसले गरिबी, बेरोजगारी र अतिवादलाई बढावा दिने, आतङ्कवादीहरूलाई प्रश्रय दिने र विश्व शान्ति र सुरक्षालाई खतरामा पार्ने उनीहरूले बताएका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend