logo

२०८३ साउन १३ बुधबार

अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा

अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजरायलमा


हाम्रो राष्ट्र
  • आइतबार, २ भाद्र २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार इजरायल आउनुुभएको छ । मध्यस्थहरूले गाजा युद्धविराम सम्झौतालाई बलियो बनाउन खोजिरहेका समय शनिबार हमासका एक वरिष्ठ अधिकारीले वार्तामा ‘अमेरिकी निर्देशन’ स्वीकार्य नहुने बताएका थिए ।

    अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहको आक्रमणपछि गाजा युद्ध सुरु भएयता मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले आगामी दिनमा कायरोमा युद्धविराम वार्ता सुरु हुनुअघि इजरायली नेताहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

    अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताले १० महिनाभन्दा लामो युद्ध अन्त्यका लागि वार्ता अघि बढिरहेको बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताका लागि ‘हामी पहिलेभन्दा धेरै नजिक छौं’ भन्नुभएको छ ।

    यद्यपि, हमासका राजनीतिक ब्युरो सदस्य सामी अबु जुहरीले दोहामा दुई दिनसम्म चलेको वार्तापछि प्रगतिको सङ्केत ‘भ्रम’ भएको एएफपीसँग बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हामी कुनै सम्झौता वा वास्तविक वार्ताको सामना गरिरहेको नभई अमेरिकी निर्देशनबारे छलफल गरिरहेका छौं ।”

    महिनौंसम्म चलेको युद्धविराम वार्ताको क्रममा विगतमा देखिएका आशासमेत मरेका छन् ।

    जुलाईको अन्त्यतिर हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहलगायत इरान समर्थित लडाकू नेताहरूको एकपछि अर्को गर्दै भएको हत्या र घेराबन्दीमा परेको गाजा पट्टीमा पोलियोको प्रकोपसँगै मानवीय सङ्कट गहिरिँदै गएपछि यो खतरा बढेको छ ।

    मध्यस्थकर्ताहरूले युद्धरत पक्षहरूबीचको बाँकी खाडल कम गर्न प्रस्तावहरू अघि सारेको घोषणा गरेपछि हमासले इजरायलबाट आएको ‘नयाँ शर्त’ अस्वीकार गरेको र मे महिनाको अन्त्यमा बाइडेनले अघि सारेको योजना कार्यान्वयन गर्न आह्वान गरेको थियो ।

    ब्लिन्केन शनिबार राति तेल अभिभ प्रस्थान गर्नुअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमासमाथि ‘भारी दबाब’ सिर्जना गर्न आह्वान गरेको थियो ।

    प्यालेस्टिनी समूहका साथै केही विश्लेषक र इजरायली प्रदर्शनकारीले नेतन्याहूले आफ्नो कट्टर दक्षिणपन्थी सत्तारूढ गठबन्धनको रक्षाका लागि सम्झौता गरेको आरोप लगाएका छन् ।

    “हामीसँग बन्धकहरूलाई रिहा गर्न, युद्ध अन्त्य गर्न त्यति इच्छुक नरहेका एक जना प्रधानमन्त्री हुनुहुन्छ किनभने उहाँको आफ्नै स्वार्थ छ,” गाजामा रहेका बन्दीहरूलाई घर फर्काउने सम्झौताको माग गर्दै तेल अभिभमा हजारौँले र्‍याली निकालिरहेका बेला ५३ वर्षीय प्रदर्शनकारी योसीले भन्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend