logo

२०८३ साउन १४ बिहिबार

पश्चिम किनारबाट इजरायली सेना फिर्ता

पश्चिम किनारबाट इजरायली सेना फिर्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, २१ भाद्र २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । इजरायली सेना १० दिनको अपरेसनपछि शुक्रबार जेनिन सहर र त्यहाँका शरणार्थी शिविरबाट हटेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । कब्जा गरिएको पश्चिम किनारमा भएको इजरायली आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो ।

    बख्तरबन्द सवारी र बुलडोजरको सहयोगमा सेनाले विनाशकारी आक्रमण गरेको धेरै दिनपछि भागेका बासिन्दाहरू शिविरमा फर्केका छन् । उक्त क्षेत्र इजरायलविरुद्ध लड्ने प्यालेस्टिनी सशस्त्र समूहको गढ थियो ।

    अगस्ट २८ मा सेनाले जेनिनलगायत उत्तरी पश्चिम किनारका धेरै सहर र गाउँमा सैन्य अभियान चलाएको थियो ।

    ‘जेनिन क्षेत्रमा आतङ्कवाद विरोधी गतिविधि सञ्चालन गरिरहेको’, इजरायली सेनाले फिर्ताको बारेमा पुष्टि नगरी शुक्रबार विज्ञप्तिमा बताएको छ । “आतङ्कवाद विरोधी अभियानको उद्देश्य हासिल गर्न इजरायली सुरक्षा बलले लगातार कारबाही गरिरहेको छ”, विज्ञप्तिमा उल्लेख छ ।

    जेनिनमा भएको अपरेसनमा १४ लडाकूको मृत्यु भएको, संदिग्ध ३० जनालाई पक्राउ गरेको, सडकमुनि राखिएका करिब ३० वटा विस्फोटक पदार्थ नष्ट गरिएको र चार वटा हवाई आक्रमण गरिएको सेनाले बताएको छ ।

    अधिकांश प्यालेस्टिनीको मृत्यु भएको जेनिनमा एक इजरायली सैनिकको पनि मृत्यु भएको छ ।

    अक्टोबर ७ मा दक्षिणी इजरालयमा आक्रमण गरेर गाजामा जारी युद्धलाई जन्म दिएको हमास र प्यालेस्टिनी इस्लामिक जिहादले मारिनेहरूमा कम्तीमा १४ लडाकू रहेको बताएका छन् ।

    जेनिन शिविरका धेरै घर बुलडोजरहरूले क्षतिग्रस्त वा नष्ट भएका छन् । इजरायली बख्तरबन्द सवारीहरू फिर्ता भएपछि शुक्रबार बासिन्दाहरूले भग्नावशेष सफा गर्न आफ्नै बुलडोजर प्रयोग गरिरहेको एएफपीका पत्रकारहरूले बताएका छन् ।

    फर्किने बासिन्दाहरूको प्रारम्भिक चाल भीडमा परिणत भयो र चाँडै नै बालबालिकाहरू सडकमा खेल्न थाले ।

    इजरायलले सन् १९६७ देखि पश्चिम किनारलाई कब्जा गरेको छ र उसका सेनाले नियमित रूपमा प्यालेस्टिनी समुदायमाथि आक्रमण गर्दछ । अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि इजरायली सेनाले पश्चिम किनारमा गरेको आक्रमणमा कम्तीमा छ सय ६१ प्यालेस्टिनीको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend