काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले विकासका लागि ठूलो रकम खर्च भए पनि जनताले त्यसको अनुभूति गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
यूएनडीपी नेपालका फिल्ड अफिस प्रमुख रफिक सिद्धिकी र मातहतका परियोजना प्रमुखहरूसँग मन्त्रालयमा भएको भेटमा मन्त्री शाहले विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई प्रभावकारी बनाएर नतिजा देखिने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकार तथा गैरसरकारी संस्थाहरूबाट ठूलो रकम विकासमा खर्च हुँदा पनि जनताले विकासको अनुभूति गर्न पाएका नपाएकोमा जोड दिनुभयो । त्यसैले अब विकासका कार्यक्रमहरूलाई प्रभावकारी र नतिजामुखी बनाउनुपर्ने उहाँको भनाई थियो ।
भेटमा यूएनडीपी नेपालका प्रतिनिधिहरूले कर्णाली प्रदेशमा सञ्चालित विभिन्न विकास परियोजनाहरूका बारेमा जानकारी गराए । उनीहरूले कर्णाली प्रदेशको विकासका लागि यूएनडीपीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend