logo

२०८३ असोज ७ बुधबार

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमाः राष्ट्रपति पौडेल

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमाः राष्ट्रपति पौडेल


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए ।

    मुलुकमा विकासको ठूलो सम्भावना रहेको बताउँदै राष्ट्रपति पौडेलले त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राखे । ‘अब हामीलाई पछाडि फर्कने छुट छैन, सबैको सहकार्यमा नेपाललाई समृद्धि बनाउनैपर्छ’ राष्ट्रपति पौडेलले भने । नेपालका निर्माण व्यवसायीहरूको समस्याहरूबारे आफू जानकार रहेको स्पष्ट पार्दै राष्ट्रपति पौडेलले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीहरूलाई सुझाव दिए ।

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानूनको अभावमा विगतमा व्यवसायीहरूले धेरै झमेला सामना गर्नु परेको बताए । सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिए । पछिल्लो समय राज्यले व्यवसायीहरूलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराए ।

    अध्यक्ष सिंहले राष्ट्रपतिमा निर्वाचित भएकोमा महासंघको तर्फबाट पौडेललाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गरे ।। हाल इफाप्काका अध्यक्ष समेत रहेका अध्यक्ष सिंहले आगामी मंसिर ४ देखि ८ सम्म काठमाडौंमा हुने ४६ औं इफाप्का सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति पौडेललाई आमन्त्रण गरे ।

    महासंघ प्रतिनिमिण्डलमा अध्यक्ष सिंहका साथ महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की,जयराम लामिछाने, वीरेन्द्रराज पाण्डे, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), उपाध्यक्षद्धय रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्य समिति सदस्य सुशील कुमार श्रेष्ठ, कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक निर्मल अर्याल रहेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend