काठमाडौं । भारतीय विश्वविद्यालय तथा कलेजहरूमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थी तथा अभिभावकहरूलाई लक्षित गर्दै काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा दुई दिने ‘स्टडी इन इन्डिया एक्स्पो’ भव्य रूपमा सुरु भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको औपचारिक स्वीकृतिमा आयोजना गरिएको यस बृहत् शैक्षिक मेलामा भारतका ३० भन्दा बढी प्रतिष्ठित र शीर्ष श्रेणीका विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष सहभागिता रहेको छ। अफेयर्स नेपाल र एडिफाइ (Edify) को संयुक्त पहलमा आयोजित यस एक्स्पो जेठ २२ र २३ गते (जुन ५ र ६) सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ। मेलामा प्रवेश निःशुल्क गरिएको छ।
अफेयर्स नेपालका प्रबन्ध निर्देशक कुमार थपलियाले मेलाको उद्देश्य र आकर्षणबारे प्रष्ट पार्दै भन्नुभयो:
“नेपाल र भारतबीचको भौगोलिक, सांस्कृतिक र सामाजिक निकटताका कारण भारतीय शैक्षिक संस्थाहरू सधैं नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा पर्दै आएका छन्। यस एक्स्पोको विशेष आकर्षण भनेको विद्यार्थीहरूले यहाँ स्थलमै प्रत्यक्ष आवेदन दिन सक्नेछन् र योग्य विद्यार्थीहरूले मेरिटका आधारमा शतप्रतिशतसम्मको छात्रवृत्ति प्राप्त गर्ने सुनौलो अवसर पाउनेछन्। हामी शुल्क संरचना र भर्ना प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्दै परामर्श प्रदान गरिरहेका छौं।”
एक्स्पोमा भारतका विश्वप्रसिद्ध शैक्षिक संस्थाहरू जस्तै भीआईटी (VIT), मनिपाल (Manipal), सिम्बायोसिस (Symbiosis), एमिटी (Amity), जैन (Jain), एसआरएम (SRM), शारदा (Sharda), चण्डीगढ युनिभर्सिटी, रमाया, ग्राफिक एरा, एमआईटी-डब्ल्यूपीयू लगायतका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श दिइरहेका छन्।
मेलामा सहभागी शारदा युनिभर्सिटीका प्रेसिडेन्ट (इन्टरनेसनल रिलेसन्स) डा. अशोक दर्यानीले नेपाल-भारत शैक्षिक सम्बन्धको महत्त्वबारे प्रकाश पार्दै भन्नुभयो:
“नेपाल र भारतको सम्बन्ध सदियौंदेखि प्रगाढ छ र शिक्षा क्षेत्रले यसलाई अझ बलियो बनाएको छ। भारतीय शिक्षाले नेपाली विद्यार्थीहरूलाई केवल डिग्री मात्र दिँदैन, बरु उनीहरूलाई वैश्विक बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउँछ। शारदा युनिभर्सिटीमा हामी नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको वातावरण र व्यावहारिक ज्ञान प्रदान गर्दछौं, जसले गर्दा उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित हुन्छ।”
त्यस्तै, आधुनिक पूर्वाधार र विश्वस्तरीय शिक्षाका लागि परिचित एमिटी एजुकेसन ग्रुपका भाइस प्रेसिडेन्ट विपिन शर्माले नेपाली विद्यार्थीहरूको उपस्थितिबारे भन्नुभयो:
“एमिटी युनिभर्सिटीमा हाल ठूलो संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत छन् र उनीहरूको शैक्षिक प्रदर्शन उत्कृष्ट छ। हाम्रो विश्वविद्यालयले उद्योग-केन्द्रित (Industry-driven) पाठ्यक्रम र उत्कृष्ट प्लेसमेन्ट सुनिश्चित गर्दछ। नेपाली विद्यार्थीहरूका लागि एमिटीका विशेषताहरू, अनुसन्धानका अवसरहरू र छात्रवृत्ति योजनाहरू बुझ्नका लागि यो एक्स्पो एउटा उत्कृष्ट माध्यम बनेको छ।”
यसपटकको एक्स्पोमा परम्परागत विधाका साथै मिडिया, फिल्म, एनिमेसन र मनोरञ्जन क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीहरूका लागि पनि विशेष शैक्षिक कार्यक्रमहरू प्रस्तुत गरिएका छन्। टी-सिरिज एजुकेसन (T-Series Education) को प्रवर्द्धनमा संचालित र भारतको नोइडा (उत्तर प्रदेश) मा अवस्थित प्रख्यात मिडिया, फिल्म तथा फेसन कलेज जीकेएफटीआईआई (Gulshan Kumar Film & Television Institute of India) को उपस्थिति मेलाको मुख्य आकर्षण बनेको छ। यो संस्थाले सिनेमा, मास कम्युनिकेसन, पत्रकारिता, फेसन र पर्फर्मिङ आर्ट्समा विश्वस्तरीय व्यावसायिक तालिम र करिअरको अवसर प्रदान गर्दै आएको छ।
टी-सिरिज एजुकेसन र जीकेएफटीआईआई (GKFTII) का प्रेसिडेन्टले कोर्षको विस्तृत विवरण साझा गर्दै भन्नुभयो:
“मिडिया, चलचित्र निर्माण, फेसन र प्रविधिमा रुचि राख्ने नेपाली युवाहरूका लागि हामीले TSSWA र GKFTII का विस्तृत कार्यक्रमहरू ल्याएका छौं। बलिउड र भारतीय मनोरञ्जन एवं फेसन उद्योगको प्रत्यक्ष अनुभव र प्रयोगात्मक प्रशिक्षण दिन हाम्रा कोर्षहरू डिजाइन गरिएका छन्। हामी नेपाली प्रतिभाहरूलाई उद्योगको नेतृत्व गर्न सक्ने गरी दक्ष बनाउन पूर्ण रूपमा प्रतिबद्ध छौं।”
मेलाको पहिलो दिनमै विद्यार्थी र अभिभावकहरूको उत्साहजनक र ठूलो संख्यामा उपस्थिति देखिएपछि आयोजक टोलीले खुसी व्यक्त गरेको छ।
अफेयर्स एक्जिबिसन्स एन्ड मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत (CEO) विवेक शुक्लाले उद्घाटन सत्रमा सबैलाई धन्यवाद दिँदै भन्नुभयो:
“काठमाडौंमा आयोजित यस बृहत् शैक्षिक मेलालाई सफल बनाउन सहयोग गर्नुहुने नेपाल सरकारको शिक्षा मन्त्रालय, भारतबाट पाल्नुभएका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरू, मिडियाकर्मी र विशेष गरी ठूलो संख्यामा उपस्थित हुनुभएका विद्यार्थी तथा अभिभावकहरूमा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु। अफेयर्स एक्जिबिसन्स सधैं विद्यार्थीहरूलाई सहि मार्गदर्शन र पारदर्शी शैक्षिक परामर्श दिन प्रतिबद्ध छ। दुई दिनसम्म चल्ने यस मेलाबाट भारतमा उच्च शिक्षाको सपना बुनेका सम्पूर्ण विद्यार्थीहरूले अधिकतम लाभ लिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु।”
भारतमा विश्वस्तरीय शिक्षा तुलनात्मक रूपमा सुलभ शुल्कमा प्राप्त हुने, भाषा र संस्कृतिको अवरोध नहुने र अन्तर्राष्ट्रिय स्तरको प्लेसमेन्ट सुविधा हुने भएकाले नेपाली विद्यार्थीहरूका लागि यो एक्स्पो एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने देखिएको छ। आयोजकले उच्च शिक्षाको तयारीमा रहेका सबैलाई होटल एभरेस्टमा गई उपलब्ध अवसरको लाभ लिन पुनः आह्वान गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend