काठमाडौं, नेपाल सरकार र जर्मनी संघीय गणतन्त्र सरकारबीच विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्ता २०२६ जुन १६–१७ मा काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा (IERD) का प्रमुख डा. धनीराम शर्माले गरेका थिए भने जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) की दक्षिण एशिया विभाग प्रमुख बारबरा शेफरले गरेकी थिइन्।
दुई पक्षबीच आगामी दुई वर्षका लागि ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्र मा सहकार्यका प्राथमिकता र सम्भावित कार्यक्रमबारे विस्तृत छलफल भएको थियो। वार्ताको निष्कर्षस्वरूप जर्मन सरकारले सन् २०२६–२०२७ अवधिका लागि ३७.६ मिलियन युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
उद्घाटन सत्रमा बोल्दै बारबरा शेफरले जर्मनीको विकास नीति दीर्घकालीन, विश्वसनीय र संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) प्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्। उनले नेपालसँगको सहकार्यलाई अझ सुदृढ बनाउने जर्मनीको प्रतिबद्धता दोहोर्याइन्।
जर्मनीको सहयोगबाट नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा दक्षता अभिवृद्धि, विद्युत् वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, राजस्व क्षेत्र सुधार, गुणस्तरीय पूर्वाधार निर्माण, लैङ्गिक समानता प्रवर्द्धन, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तार जस्ता महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिनेछ।
यस सहयोग प्याकेजमा नयाँ कार्यक्रमका साथै केएफडब्लु डेभलपमेन्ट बैंक (KfW), जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (GIZ) तथा जर्मन राष्ट्रिय मापन संस्थान (PTB) मार्फत सञ्चालित विद्यमान कार्यक्रमहरूको निरन्तरता पनि समावेश गरिएको छ।
द्विपक्षीय सहयोगबाहेक जर्मनीले संयुक्त राष्ट्रसंघका विभिन्न निकाय तथा एचआईभी/एड्स, क्षयरोग र मलेरिया विरुद्धको ग्लोबल फन्ड जस्ता बहुपक्षीय संयन्त्रमार्फत पनि नेपाललाई सहयोग गर्दै आएको छ। साथै, जर्मनी प्रमुख योगदानकर्ता रहेको युरोपेली संघ (EU) सँगको साझेदारीमा सञ्चालित विकास कार्यक्रमबारे पनि छलफल भएको थियो।
जर्मनीका लागि नेपालस्थित राजदूत उडो भोल्ज ले दिगो विकासका लागि मानव अधिकार, विधिको शासन र सशक्त नागरिक समाज अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल र जर्मनीबीचको नागरिक समाजस्तरको सम्बन्धलाई विशेष महत्व दिए।
दुवै देशले वार्ताको उपलब्धिप्रति सन्तुष्टि व्यक्त गर्दै नेपाल–जर्मनी साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आगामी द्विवार्षिक विकास सहकार्य वार्ता सन् २०२८ मा जर्मनीमा आयोजना हुने तय गरिएको छ।
नेपाल र जर्मनीबीचको लामो समयदेखिको सहकार्यले दिगो आर्थिक विकास, जलवायु परिवर्तनको सामना, स्वास्थ्य क्षेत्रको सुदृढीकरण तथा दिगो विकास लक्ष्यहरूको प्राप्ति मा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। दुई दिनसम्म चलेको वार्ता सौहार्दपूर्ण, खुला र रचनात्मक वातावरणमा सम्पन्न भएको जनाइएको छ।