logo

२०८३ साउन १४ बिहिबार

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय


हाम्रो राष्ट्र
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.1K
    SHARES

    पोखरा । राजनीतिक समीकरण फेरिएसँगै नेकपा माओवादी केन्द्रले गण्डकी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    शुक्रबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरिने निर्णय गरेको माओवादी सांसद हरिबहादुर भण्डारीले जानकारी दिएका छन् ।

    एमाले नेता खगराज अधिकारी नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । दल नेता हरिबहादुर चुमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र रेशमबहादुर जुग्जाली उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

    दुवैले आज नै मुख्यमन्त्री अधिकारीसमक्ष राजीनामा दिने सांसद भण्डारीले बताए । माओवादी सरकारबाट बहिरिएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी संसद सचिवालयलाई गराएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनुपर्छ ।

    समर्थन फिर्ता लिएको जानकारी संसदमा आजै गराउने माओवादीको तयारी छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार कांग्रेस दल नेता सुरेन्द्रराज पाण्डे ठूलो दलको नेताको हैसियतले स्वतः मुख्यमन्त्री बन्ने छन् ।

    गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक), राप्रपाका २ र एकजना एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र निर्वाचित सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend