logo

२०८३ असोज ७ बुधबार

राष्ट्रपति निर्वाचनको तयारीका लागि आठ दलद्वारा कार्यदल गठन

राष्ट्रपति निर्वाचनको तयारीका लागि आठ दलद्वारा कार्यदल गठन


हाम्रो राष्ट्र
  • आइतबार, १४ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको भएको बैठकले कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल गठन गरेको हो ।

    कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरत्सिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।

    कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आ–आफ्नो पार्टीको जिम्मा लिनुपर्नेछ । बैठकले यही फागुन २३ गतेभित्र गठबन्धनमा आबद्ध सबै दलका सबै सांसदहरूलाई काठमाडौँ आउन निर्देशन दिने निर्णय पनि गरेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

    त्यसैगरी, बैठकले फागुन १८ गते सङ्घीय सांसदलाई अभिमुखीकरण दिने र १९ गते सातै प्रदेशमा निर्वाचनलक्षित कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    सबै दललाई राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्न आह्वान गर्ने बैठकको निर्णय छ ।

    कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्षनेताहरुको बैठकमा उपराष्ट्रपतिको निर्वाचन, पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सत्ता साझेदारी लगायतका विषयमा पनि छलफल भएको थियो ।

    बैठकमा प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरुङ, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा (एस)का नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेत्री एलिजा गौतमलगायत सहभागी थिए ।

    निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । शुक्रबार बसेको आठ दलको बैठकले कांग्रेसको उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो ।

    कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदरवार बनाउने निर्णय गरेअनुसार उनले उम्मेदवारी दर्ता गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend