काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने युएई गएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाली क्रिकेटर सन्दीपलाई युएई जानका लागि अनुमति दिएपछि उनी बुधबार युएई गएका हुन् ।
नेपाली टिम युएई जाँदा अदालती प्रक्रियाका कारण उनी जान पाएका थिएनन् । सर्वोच्च अदालतको आदेश अनुसार उनी विदेशी भूमिमा आयोजना हुने प्रतियोगिताका लागि जान अनुमति दिएपछि नेपाल क्रिकेट संघ क्यानले आईसीसीसँग सन्दीपलाई नेपाली टिममा समावेश गर्नका लागि पत्राचार गरेको थियो ।
बुधबार दिउँसो सन्दीपलाई टिममा समावेश गर्न आईसीसीको अनुमति आएको र उनी आज दिउँसो ३ बजे फ्लाई दुबइको नियमित उडानबाट युएई प्रस्थान गरेका क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
सन्दीपले यसअघि नेपाली टिममा समावेश भएका श्याम ढकालको ठाउँमा खेल्नेछन् । सर्वोच्च अदलातबाट प्रतियोगिताका लागि विदेश जान सक्ने आदेश आएपछि क्यानले उनलाई अहिले युएई (दुबई)मा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि नेपाली टिममा समावेश गर्न प्रक्रिया अघि बढाएको थियो ।
बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका सन्दीप उच्च अदालत पाटनको आदेशबाट २० लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए ।
त्यसपछि कीर्तिपुरमा भएको नेपाल, नामेविया र स्कटल्याण्डविरुद्धका सिरिज खेलेका थिए । ४ खेलमा १३ विकेट लिएका सन्दीपको प्रदर्शनका कारण पनि नेपालले सिरिजमा क्लिनस्वीप गरेको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend